STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

शहरीकरण र संरक्षणको अभावमा लोप भए पँधेरा र ढुङ्गेधारा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १७, शुक्रबार

 धु्रवसागर शर्मा गलेश्वर, १७ फागुन ९रासस० ः ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेका छन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् । बढ्दो जनसङ्ख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुङ्गेधाराहरू भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदाहरु लोप हुँदै गएका बेनी नगरपालिका २ विमिराबोटका नारायण शर्माले बताउनुभयो । पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दाले बताएका छन् । अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय जलसम्पदाहरु पुरिएका बेनी नगरपालिकाका इन्जिनीयर विमलरञ्जन कार्कीले बताउनुभयो । म्याग्दीका ग्रामीण भेगमा रहेका कयौं पँधेरा र ढुङ्गेधाराहरु लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने म्याग्दीको इतिहास र संस्कृतिका अध्येता कृष्णवहादुर बानियाँले बताउनुभयो । ढुङ्गेधारा र पँधेरा लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि हराउँदै गएको स्थानीय बूढापाकाहरु बताउँछन् । “उकाली ओराली गर्दा आँत हरर्र हुन्थ्यो,” बेनपा २ का ८६ वर्षीय भीमप्रसाद शर्मा ९सापकोटा० ले भन्नुभयो – “त्यतिबेला अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द अब कहाँ खोजेर भेटिएला र रु” अब ‘गाउँ’ गाउँ जस्तै नरहेको र गाउँको मौलिकता नै हराएर कुरुप बनेको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ । “न गाउँ गाउँ जस्तो रह्यो न त शहरको सुविधा नै गाउँले पाउन सक्यो,” धौलागिरि गाउँपालिकाको ताकमका ७६ वर्षीय बुद्धिप्रसाद सुवेदीले भन्नुभयो – “सम्पदा नासिए, संस्कृति मासियो, गाउँ अधकल्चो जस्तो भयो ।” पानी पँधेरो र ढुङ्गेधाराहरुसँग गाउँको संस्कृति, सभ्यताको अनन्त साइनो रहेको बताउने साहित्यकार सुवेदीले गाउँको सभ्यताको शुरुआत नै यस्तै सम्पदाहरुबाट भएको ठान्नुहुन्छ । दुई दशक अघिसम्म ग्रामीण महिलाका लागि पानी पँधेरो नै दुःखसुख साट्ने र पीर ब्यथा कहने एक मात्र माध्यम हुने गरेको थियो । सुवेदीले पँधेरा र ढुङ्गेधाराहरु केवल पानीका स्रोतहरु मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतहरु पनि भएका उल्लेख गर्नुभयो । अहिले गाउँमा पँधेरा र ढुङ्गेधाराहरु मात्र होइन ढिकी, जाँतो ,पानीघट्ट, ओखल र कोलहरु पनि लोप भइसकेका छन् । आयातित संस्कृतिले गाउँलाई कुरुप बनाउँदै लगेपछि गाउँवासीहरुमा अपनत्व र भ्रातृत्व भावमा पनि कमी देखिँदै गएको छ । सामूहिकतामा विश्वास गर्ने गाउँलेहरुको विश्वास भाँचिदै गएपछि एकाङ्कीपन बढेर गएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरु पनि व्यापारी जस्ता बन्दै जान थालेका स्थानीय वयोवृद्धहरु बताउँछन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको सांस्कृतिक मौलिकता र सम्पदाहरुमा हराउँदै गएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीका ६ वटै स्थानीय तहमा ‘एक घर एक धारा’ निर्माण अभियान सञ्चालन भइरहेको छ । घरघरमा धारा बनाउन थालेपछि कतै कतै मात्र भेटिने पँधेराहरु पनि प्रयोगविहीन अवस्थामा पुगेका गाउँलेहरुले बताएका छन् । “पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो,” बगरफाँटमा ७९ वर्षीय वेदप्रसाद शर्माले भन्नुभयो – “अब ती सबै परम्पराहरु एकादेशका कथा जस्तै भैसके ।” गाउँघरमा डोजर लगाएर बाटो खन्ने चलन शुरु भएसँगै ग्रामीण मौलिक सम्पदाहरुको विनाश हुने क्रम पनि शुरु भएको अन्नपूर्ण गाउँपालिकाका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको भनाइ रहेको छ । “गाउँघरमा सडक पु¥याउन पाए अरु केही चाहिन्न भन्ने मानसिकताले गाउँलेहरुले ग्रामीण जीवन पद्धतिका परम्परागत सम्पदाहरु पँधेरा, ढुङ्गेधारा, चौतारी, पोखरी, कुवा, पाटी, पौवा जस्ता नेपाली ग्रामीण परिवेशका अमूल्य सम्पदाहरुको संरक्षणमा ध्यानै दिएनन्,” आचार्यले भन्नुभयो – “गुमेका सम्पदाहरु त गुमे गुमे बचेका सम्पदाहरुको संरक्षणमा स्थानीय तहहरुले नै ध्यान दिन जरुरी छ ।” म्याग्दीका स्थानीय तहका केही जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षण गर्न अभियान नै सञ्चालन गरेका छन् । बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका विभिन्न ठाउँमा रहेका पँधेरा, चौतारी, पोखरी, पाटी, पौवाहरुको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुभएको छ । सम्भव भएसम्म वडाको बजेट प्रयोग गर्ने र सम्भव नभए आफ्नै निजी खर्चमा समेत चौतारी, पोखरी, पँधेराहरुको पुनःनिर्माण गरेर सन्ततिहरुका लागि सुरक्षित राख्ने प्रयास गरेको उहाँले बताउनुभयो । बेनपा–६ का अध्यक्ष बानियाँ जस्तै सबै स्थानीय तहका जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षणका लागि चासो राख्ने र त्यस्ता सम्पदाहरुलाई महत्व दिने हो भने ग्रामीण जीवनका अजस्र सोत बनेका रैथाने सीप, स्रोत, साधन, प्रविधि र सम्पदाहरु आगामी पुस्ताका लागि आफ्नो सभ्यता, संस्कृति र पितापुर्खाको जीवन पद्धति हेर्ने आँखिझ्याल सावित हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन् । ( रासस )
Categorized in उपत्यका