STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्व विख्यात भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको कन्सर्ट नेपालमा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २५, बिहिबार

अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका विश्व विख्यात बांसुरीवादक अश्विन श्रीनिवासनले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यही आइतवार (फागुन २८/मार्च १२) का दिन आयोजना गर्न लागेको “नाद रंग – कलर्स अफ साउन्ड, कन्सर्ट बाँसुरी लाइभ” कार्यक्रममा श्रीनिवासनलाई प्रख्यात तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् ।

दुई वर्षको उमेरमा भारतीय शास्त्रीय सङ्गीत सिक्न शुरु गरेका आश्विन संगीतकार परिवारमै जन्मेका हुन् । आफ्नी आमाबाट सितार सिक्न थालेका उनको आकर्षण सात बर्षको उमेरमा बाँसुरीतर्फ मोडियो । हाल मुम्बईका सबैभन्दा व्यस्त बासुरीवादकका रुपमा चिनिने उनी विश्वका अन्य विभिन्न लोक वाद्य उपकरणहरूका समेत दक्ष संगीतकारका रुपमा चिनिन्छन् । उनलाई साथ दिने तबला वादक ओजस अढिया सबैभन्दा कान्छा तबला वादकका रुपमा “द लिम्का बुक अफ रेकर्डस्”मा दर्ता भएका भारतीय शास्त्रीय संगीत क्षेत्रका सबैभन्दा होनहार मानिने तबला वादक हुन् ।

दाफा म्युजिकका विभिन्न नेवाः र शास्त्रीय बाजाहरू फ्यूजन गरिएको सामूहिक प्रस्तुतिबाट सो कार्यक्रम आरम्भ हुनेछ । नेपालको सांस्कृतिक परम्परा दाफा संगीतको संरक्षण एवं प्रवर्द्धन गर्दै युवा पुस्ताका सांगीतिक समूहमा हस्तान्तरण गरेर सिमित हुँदै गएको सांगीतिक परम्पराको प्रचार गर्दै ब्यापक बनाउने उद्देश्यले समावेश गरिएको आयोजक समाजका अध्यक्ष लक्ष्मी डंगोलले बताउनु भएको छ ।

 काठमाडौं महानगरपालिकाको सहयोग रहेको सो कार्यक्रमबाट संकलन हुने रकम संगीत विद्यार्थीहरूका लागि आवश्यकतानुसार छात्रवृत्ति प्रदान गर्न समर्पित गरिनेछ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनीता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरमा साँझ ५ बजे कार्यक्रम हुनेछ ।

यस कार्यक्रमका आयोजक जयश्री संगीत समाजले नेपालको शास्त्रीय संगीत उद्योगको प्रवर्द्धन गर्नुका साथै स्थापित तथा उदीयमान कलाकारहरूलाई अवसर प्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रत्येक दुई महिनामा “जुगलबन्दी” शास्त्रीय संगीत कन्सर्टको आयोजना गर्दै आएको समाजले यस अघि नेवाः लिभिङ लेजेन्ड गायक भृगुराम श्रेष्ठको गीत प्रवर्द्धन गर्ने उद्देश्यले “माया रे रतन – भृगुराम श्रेष्ठ – लाइभ इन कन्सर्ट” २०१८, विरजु महाराजकी छात्राको कत्थक कलाकार शिखा खरेको प्रस्तुति “कत्थक रिदम्स एण्ड एक्सप्रेशन – २०१७”, पण्डित हरिप्रसाद चौरासिया लाइभ इन् कन्सर्ट – २०१४, पोखरा एवं काठमाडौंमा “द मुड्स अफ मीड – सितार लाइभ इन कन्सर्ट – २०१३”, सरोदमा  Maestro Duets – २०१२ को आयोजना गरीसकेको छ ।

Categorized in साहित्य-कला