STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

विश्वभर ८५ लाख कम्प्युटरका विन्डोजमा समस्या

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ७, सोमबार

क्यालिफोर्निया - शुक्रबार विश्वभर विन्डोजमा आएको समस्याका कारण ८५ लाख उपकरण प्रभावित भएको सफ्टवेयर बनाउने कम्पनी माइक्रोसफ्टले भनेको छ । साइबर सेक्युरिटी सफ्टवेयर कम्पनी क्राउडस्ट्राइकले अपडेटपछि विन्डोजमा समस्या आएको थियो । 

यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ । विश्वभर एकैचोटी यसअघि यो सङ्ख्याका उपकरणमा समस्या देखिएको थिएन । क्राउडस्ट्राइडकले सफ्टवेयर अपडेट गर्दा करप्टेड सफ्टवेयर अपडेट भएपछि ठुलो सङ्ख्यामा उपकरणमा समस्या देखिएको थियो ।

आफ्ना प्रयोगकर्तालाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको माइक्रोसफ्टले बताएको छ । ‘क्राउडस्ट्राइक अपडेटबाट करिब ८५ लाख विन्डोज उपकरण प्रभावित भएको हामीले अनुमान गरेका छौँ ।’ कम्पनीले एक ब्लग पोस्टमा भनेको छ । यो भनेको विश्वभर प्रयोगमा आएका विन्डोज उपकरणको १ प्रतिशतभन्दा कम भएको माइक्रोसफ्टको उपाध्यक्ष डेभिड वेष्टन भन्छन् । 

यो समस्याले संवेदनशील सेवा प्रवाह गरिरहेका कयौँ कम्पनीहरूले क्राउडस्ट्राइक प्रयोग गरिरहेको देखाएको छ । यस अघि सन् २०१७ मा वानाक्राई साइबर हमलामा विश्वका १५० देशमा करिब ३ लाख कम्प्युटर प्रभावित भएका थिए । एक महिनापछि पनि यही स्तरमा नटपेटा सायबर हमला भएको थियो ।

Categorized in विज्ञान-प्रविधि