STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकप २०२२ : उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग पराजित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ५, सोमबार

एजेन्सी - इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ।

आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको उद्घाटन खेलको पहिलो हाफमै २-० को अग्रता बनाएको दक्षिण अमेरिकी टिम इक्वेडर दोस्रो हाफमा त्यसको बचाऊ गर्दै सहज जित सुनिश्चित गर्‍यो। आयोजक राष्ट्रकारूपमा पहिलो पटक विश्वकप खेल्ने मौका पाएको कतारमाथि निरन्तर आक्रमण गरेको इक्वेडर दुई पटक मात्र फिनिसिङमा सफल भएको थियो।

कतारका गोलकिपर साद अल शीबले भ्रमणकारी टिमका कप्तान इनर भ्यालेन्सियालाई १८ यार्ड बक्समा लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो। कप्तान भ्यालेन्सियाले सोही पेनाल्टीमार्फत गोल गर्दै १६औं मिनेटमा इक्वेडरलाई अग्रता दिलाएका थिए।

प्रेसियाडोले ३१औं मिनेटमा दायाँतर्फबाट गरेको क्रसमा भ्यालेन्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारेका थिए। भ्यालेन्सियाले विश्वकपमा इक्वेडरबाट गरेको यो पाँचौं गोल हो। 

यसअघि उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा तीन गोल गरेका थिए। ब्राजिलमा उनले समूह 'ई'अन्तर्गत होन्डुरसविरुद्ध दुई र स्वीट्जरल्यान्डविरुद्ध एक गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाले हेडरमार्फत गरेको गोल अफसाइडका कारण रद्द भएको थियो। कतारका प्रमुख स्ट्राइकर अल्मोज अली पहिलो हाफको इन्जुरी समयमा गोल गर्ने सुवर्ण अवसरबाट चुकेका थिए।

अल बायट रंगशालामा इक्वेडरलाई समूह 'ए'मा शानदार सुरुआत दिलाएका भ्यालेन्सिया ७७औं मिनेटमा चोटका कारण सब्स्टिच्युट भएका थिए।

पहिलो पटक जाडोयाममा आयोजित विश्वकपको पहिलो खेलमा कतार दुर्गभाग्यशाली रह्यो। विश्वकपको ९२ वर्षको इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको थिएन। यसअघि सन् २०१८ मा भएको विश्वकपको उद्घाटन खेलमा रुसले साउदी अरबलाई ५-० गोलको नतिजामा पराजित गरेको थियो।

यस्तै २०१४ मा आयोजक ब्राजिलले उद्घाटन खेलमा क्रोएसियालाई ३-१ गोलको नतिजामा पराजित गरेको थियो। यो विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम संस्करण हो। सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा ४८ देश सहभागी हुनेछन्।

Categorized in खेलकुद