STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ४, बुधबार

काठमाडौं - फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो ।

टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो ।

दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विदेशी विज्ञ टोलीले अध्ययन गरिरहेकोबारे सम्बन्धित निकायबाट जानकारी पाएको भए पनि आफूलाई यो विषयमा धेरै थाहा नभएको बताए।

“दुर्घटनापछि खोज, उद्धार, शव व्यवस्थापनलगायतमा सुरक्षा निकाय खटिन्छ, जाँच तथा छानविनको विषय हामीसँग सम्बन्धित हुँदैन”, उनले भने। विमान दुर्घटनापछि सरकार गठन गरेको जाँच आयोगलेसमेत दुर्घटनाबारे छानविन सुरु गरेको छ ।

अध्ययन सकेर केही सदस्य काठमाडौँ फर्किसकेको केही अझै पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोग गठन भएको थियो ।

आयोग सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा रहेका छन्। आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

यसअघि सोमबार विमानको ‘ब्ल्याक बक्स’ फेला परेको थियो । ‘ब्ल्याक बक्स’ले दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

६८ यात्रु र चार जना चालकदलका सदस्य लिएर गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमान सेतीँखोचमा खसेको थियो । दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ भने बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए।

त्रिवि अस्पतालमा शव परीक्षण हुँदै

 

विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव आज काठमाडौँ ल्याइएको छ ।

मङ्गलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८ शव काठमाडौँ ल्याइएको थियो । मङ्गलबार फेला परेको एक शव भने आज दिउँसो काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याइएका शवको आज बिहानदेखि नै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण भइरहेको छ ।

मङ्गलबार काठमाडौँ ल्याइएका शवमध्ये अहिलेसम्म १२ शवको परीक्षण भइसकेको यती एयरलाइन्सले जनाएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये २२ शवको परीक्षण गरेर पोखरामा नै हस्तान्तरण गरिए पनि बाँकी ४९ शव भने काठमाडौँ ल्याइएको थियो ।

काठमाडौँ ल्याइएकामध्ये पहिचान खुलेका २१ शवको परीक्षण गरेर भोलि बिहान मृतकका परिवारलाई हस्तान्तरण गरिने एयरलाइन्सले जनाएको छ । पहिचान नखुलेका शवको भने डिएनए टेस्ट गरेर मात्र शव परीक्षण गरी मृतकका परिवारलाई बुझाइनेछ ।

चालक दलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजीकार्य जारी रहेको छ ।

Categorized in अपराध-दुर्घटना