STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विप्लवको नेपाल बन्द : उपत्यकामा सामान्य प्रभाव, ५ बन्दकर्ता पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ३०, मंगलबार

३० कात्तिक, काठमाडौं - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेकाे छ । काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् ।

बन्दका कारण सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । यसकारण यात्रुले भने सास्ती पाएका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।

यस्तै अत्यावश्यक कामले काठमाडौं बाहिर जानुपर्ने यात्रुहरु पनि चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाण्डौ आइपुगे पनि काठमाडौंबाट छुट्ने गाडी भने नगण्य रहेका छन् ।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ ।

काठमाडौं बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि निर्वाध गुडिरहेका देखिन्छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।

Categorized in राजनीति