STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २५, आइतबार

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पुर्याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणको त्रास कायमै रहेको तथा विद्यार्थी विद्यालयमा आउन सक्ने अवस्था नभएकाले विद्यार्थीलाई घरमै पुस्तक पुर्याउने योजना बनाइएको बताउनुभयो । वैकल्पिक विधिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सिकाइ प्रभावकारी हुने भएकाले पुस्तक पुर्याउने योजना बनाइएको हो ।
प्रविधिको पहुँच पुगे या नपुगे पनि पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको न्यूूनतम आवश्यकता भएको उहाँको भनाइ छ । सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ हालै सार्वजनिक गरेको छ ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले असार १ बाट मुलुकभरका विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा गर्नुभएको थियो । विपद् या महामारीका कारणले नियमित पठनपाठन हुन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायत वैकल्पिक माध्यम वा पद्धतिबाट गरिने अध्ययन अध्यापनलाई वैकल्पिक विधि मानिएको छ ।
Categorized in शिक्षा