STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यार्थीलाई अस्पतालमा ५० प्रतिशत छुट दिन सरकार सहमत

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ११, मंगलबार

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिन सरकारसँग सहमति गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनेरास्ववियूबीच उक्त सहमति भएको पत्रकारी सम्मेलनमार्फत जानकारी दिइएको छ । स्वास्थ मन्त्रालयको असोज ९ गतेको मन्त्रीस्तरीय निर्णयले सरकारी अस्पतालहरुको ओपिडी सेवामा विद्यार्थीलाई छुट दिन निर्देशन दिइएको छ । तर यो सुविधा निश्चित सरकारी अस्पतालमा मात्र हुने बताइएको छ ।

यो निर्णय लागु भएमा अब विद्यार्थीहरुले परिचय पत्रको आधारमा तोकिएका सरकारी अस्पतालमा ओपिडी सेवामा ५० प्रतिशत छुट पाउनेछन् ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सरकारी, सामुदायिक विद्यालयत तथा क्याम्पसका विद्यार्थीहरुलाई तोकिएका सरकारी अस्पतालहरुमा ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति मन्त्रालयसँग भएको जानकारी दिए ।

अनेरास्ववियूले २०७९ श्रावण ४ गते स्वास्थ सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट माग्दै स्वास्थमन्त्री भवानी खापुङसमक्ष ज्ञापनपत्र पेश गरेको थियो ।

निरन्तरको संघर्ष र ध्यानाकर्षणबाट यो निर्णय गराउन सफल भएको जानकारी दिँदै अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले आफूहरु विद्यार्थीका लागि सबै उपचार निःशुल्क गराउन प्रयासरत रहेको बताए । उनले भने, ‘सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क गर्नु पर्ने हाम्रो माग जारी नै छ । विद्यार्थी आन्दोलनमा निरन्तर लाग्दै गर्दा यो उपलब्धिवाट थोरै भए पनि खुसी बनाएको छ ।’

हालका लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको हो । अब सबै प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी अस्पतालहरुमा समेत यसै बमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने मन्त्रीस्तरीय निर्णय भएको समेत जानकारी दिइएको छ ।

Categorized in राजनीति