विकास र मानवअधिकार विषयक अन्तरक्रिया
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार
राष्ट्रिय मानवअधिकार आयोगद्वारा मङ्गलबार धादिङबेँसीमा विकास र मानवअधिकार विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
सो अवसरमा आयोगका आयुक्त सुदीप पाठकले विकास निर्माणको काम गर्दा मानवीय स्वास्थ्यमा कत्तिको ध्यान दिने गरिएको छ, वातावरणमा त्यसले के कस्तो प्रभाव पार्ने गरेको छ तथा विकास र मानवअधिकारको अन्तरसम्बन्ध कस्तो छ भन्नेबारे प्रकाश पारी आवश्यक सुझावसमेत पाउन सहभागीसँग आग्रह गर्नुभएको थियो ।
नेपालमा भौतिक विकास बाटो, खानेपानी, सिँचाइ, भवन निर्माण आदि लाई मात्र विकासको रुपमा परिभाषित गर्ने प्रयास रहेको र मानवीय स्वास्थ्य वातावरणमा त्यसले कत्तिको प्रभाव पार्ने गरेको छ, त्यसतर्फ सोच्ने प्रवृत्ति नरहेकाले मानवअधिकारलाई सर्वोपरी मानी विकास र मानवअधिकारबीच अन्तरसम्बन्ध कायम गरेर विकासको काम गर्नु आवश्यक रहेको भनाइ सहभागीहरुको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक राजकुमार वैदवारले जिल्लामा बलात्कार, आत्महत्या, हत्या, लैङ्गिक हिंसाका घटना घट्दै गएको विवरण पेश गर्दै लैङ्गिक हिंसा नियन्त्रणका लागि नागरिक समाजसँग हातेमालो गरी सञ्चालन गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जिल्लामा मानवअधिकार उल्लङ्घनका घटना नघटेको बताउँदै सबैले कानूनी राज्यको अवधारणालाई आत्मसात गरी काम गरे मानवअधिकार उल्लङ्घनको घटनामा कमी आउने विचार व्यक्त गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


