STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वासु शशीका उत्कृष्ट कविताको कृति प्रकाशित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ २८, शनिबार

अमर साहित्यकार कवि वासु शशीका उल्लेखनीय कविताहरुको कृति 'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ'  शुक्रबार सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले वासु शशीको कवितासङ्ग्रह ’पर्खाल लगाएपछि धेरै थोक बाहिर हुन्छ’ को सामुहिक रूपमा लोकार्पण गर्नुभयो ।

वासु शशी स्मृति परिषदद्वारा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा शशीसंग  संगत समेत गरेका रिजालले शशी कविता सिर्जना बिना बाँच्नै नसक्ने प्रतिभा भएको बताए । उनले शशी आफै कविता भएको चर्चा गर्दै शशीले मन्छेका पक्षमा कविता लेखेको बताए । 

यस्तै कार्यक्रममा खरेलले नेपाली कविता साहित्यमा शशीले अतुलनीय योगदान गरेको बताए । उनले शशीको जीवानशैलीको चर्चा गर्दै शशी अत्यन्तै सरल मानिस बएको बताए । 

यसैगरी कार्यक्रमका सभापति एवं परिषदका अध्यक्ष गणेश रसिकले शशीको साहित्यिक योगदानको चर्चा गर्दै शशीका नाममा परिषदबाट प्रदान गरिने पुरस्कार तथा सम्मान ठूलो गौरवको विषय  भएको बताए । 

कार्यक्रममा साहित्यकार मोमिला जोशीले सबै कविले रचना गरेका सबै कविता उत्कृष्ट नहुने बताउँदै उनले भनिन् -"शशीका हरेक कविता उत्कृष्ट छन् । अझ चुनेर राखेका कविताले नेपाली कविता साहित्यलाई माथि उठाएको छ । कविता चयन र सम्पादनसंगै साजसज्जा पनि उत्कृष्ट छ ।" जोशीले शशी मानवीय कवि भएको दावी गरिन ।

कृतिका सम्पादक राजकुमार बानियाँले शशाीका कविताले सिंगो समय बोक्ने बताए । शशीका कविता कालजयी भएको बताउँदै बानियाँले शशी सम्पूर्ण कवि भएको बताए । 

परिषदका सचिव प्रधुम्न जोशीले कार्यक्रमलाई स्वागत गर्दै भने -"शशीले कविताका लागि आफ्नो जीवन समर्पण गरेका छन् ।" जोशीले शशी मसी नभए रगतले कविता लेख्ने अठोट गर्ने कवि भएको बताए । 

पुस्तक प्रकाशन संस्था बुक-हिल पब्लिकेसनका तर्फबाट कवि एवं गीतकार भूपेन्द्र खड्काले अग्रज स्रष्टाहरुका पुराना सिर्जनाहरु खोजेर प्रकाशन गर्नु संस्थाको  दायित्व भएको बताए । उनले शशीलाई नयाँ पुस्ताले पढ्नु पर्छ भन्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गरेको बताए ।

हार्ड कभरमा सुन्दर साजसज्जामा प्रकाशित उक्त कृतिको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।

Categorized in साहित्य-कला