वातावरण दिवसमा हनुमन्ते नदी सफाइ
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार
खानेपानीमन्त्री वीना मगरले मानिसमा रहेको विकृति र नकारात्मक सोचलाई सफा गर्नसके सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताउनुभएको छ ।
४६ औँ विश्व वातावरण दिवसको अवसरमा आज भक्तपुरको सूर्यविनायकमा हनुमन्ते नदी सफाइ अभियानले आयोजना गरेको सरसफाइ, वृक्षरोपण तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री मगरले भन्नुभयो, “बाहिर देखिएका फोहर टिपिरहेको हुन्छौँ, अब फोहरजन्य पदार्थको सफाइ मात्रै होइन गाउँ टोलका चिन्तनमा रहेका विकृति पनि सफा गर्नुपर्छ अनि मात्रै हामी समृद्धि नेपाल र सुखी नेपालीको नारालाई आत्मासात् गर्नसक्छौँ ।”
हनुमन्ते नदी सफाइ अभियान देशकै नमूना बनेको र यसले देशभर सफाइको सन्देश फैलाइरहेको चर्चा गर्दै उहाँले सफाइ अभियानको मूल मर्म फेरिनुपर्छ भन्नुभयो ।
सो अवसरमा सूर्यविनायक गणेश मन्दिर क्षेत्रमा वृक्षरोपण गर्दै मन्त्री मगरले निर्माणाधीन पार्कको गुरुयोजनासमेत सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो घर र टोलमा अब फोहर गर्दिन भनेर सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने धारणा राख्दै हनुमन्ते करिडोर निर्माण सम्पन्न भएलगत्तै हनुमन्ते नदीलाई ढल मुक्त बनाइने र भक्तपुरलाई सडक जाम मुक्त बनाइने बताउनुभयो ।
प्रदेश नं ३ का प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, कार्यक्रमका सभापति एवं सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापा, हनुमन्ते सफाइ अभियन्ता रुद्र पौडेलले सफाइ अभियानको महत्वमाथि प्रकाश पार्नुभयो ।
Categorized in राष्ट्रिय


