STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लिग विजेता मच्छिन्द्रको अपराजित यात्रा

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १४, शनिबार

मच्छिन्द्र फुटबल क्लबले अपराजित रहँदै शहीद स्मारक डिभिजन लिग फुटबलको उपाधि जितेको छ । ११ औं चरणको खेलमा उपाधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न लिगको अन्तिम खेलमा पनि सुखद नतिजा निकाल्दै उपाधि रक्षा गरेको हो । लिगको अन्तिम खेलमा मच्छिन्द्रले विभागीय क्लब एपीएफलाई २–१ गोल अन्तरले हराउँदा अपराजित रहँदै च्याम्पियन बनेको हो ।

सुखद अन्त्य गर्ने लक्ष्यसहित आक्रामक रणनीतिका साथ मैदान उत्रिएको एपिएफले तुलनात्मक हिसाबमा राम्रो खेले पनि मच्छिन्द्रसँग जित निकाल्न असफल रहेको थियो । मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गर्दा एपीएफका प्रदिप लामाले एक गोल फर्काएका थिए ।

खेलमा पटक पटक दबाबमा परेको मच्छिन्द्रले सुरुवाती अग्रता लिएको थियो । ४२ औं मिनेटमा अविशेकले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाएका थिए । आन्द्रेस नियाको पासमा अविशेकले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नतिजा सुम्पिएको एपीएफले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो । सोही क्रममा ६९औं मिनेटमा प्रदिप लामाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । गोलकिपर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ अगाडि बढेको मौकाको फाइदा उठाउँदै जाली चुमाएका थिए । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिनले ८१ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २–१ को जित सुनिश्चित गर्दै टोलीको अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिए । आन्द्रेसको पासमा एपीएफका गोलकिपरलाई विट गर्दै सहजै गोल गरेका थिए ।

अन्तिम केही मिनेट दुबै टोली १० खेलाडीमा समेटिएका थिए । ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।

जितसँगै मछिन्द्रले १३ खेलमा ३५ अंक जोडेर लिगको समापन गरेको छ । सम्पन्न १३ खेलमध्ये च्याम्पियन मछिन्द्रले लिगमा १० जित र २ बराबरी खेल्यो ।  मछिन्द्रले लिगभरी विपक्षीको पोस्टमा १९ गोल गर्दा मात्र २ गोल खान पुग्यो । यस्तै एपीएफले १३ खेलमा १५ अंक जोड्यो । एपीएफले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ हात पार्दा तेस्रो भएको न्युरोड टिम (एनआरटी) ले २५ लाख प्राप्त गर्‍यो । ए लिगको डेब्यू क्लब सातदोबाटो युथ क्लब चौंथो र मनाङ मस्र्याङ्दी क्लब पाँचौं स्थानमा रहे । यस सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भए ।

लिगअन्र्तगत शनिबारै आर्मी र मनाङ मस्र्याङ्दीले १–१ गोलको बराबरी खेल्दै लिग टुङ्गाउँदा न्युरोड टिम (एनआरटी)ले पुलिसलाई ३–१ ले हराउँदै लिगको समापन गर्‍यो ।

कुल ९१ खेल भएको लिगबाट मच्छिन्द्र फुटबल क्लबका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ लाख प्राप्त गर्दा फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता बनेर नगद २ लाख रुपैया प्राप्त गरे । जमउल एन्थोनीले सम्पन्न लिगमा ७ गोल गरेका उनले गोल्डेन बल प्राप्त गरे ।

यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिएर गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए भने आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित हुँदा १ लाख ५० हजार रुपैयाँ थापे । फेयर प्ले टिमको अवार्ड भने सातदोबाटो युथ क्लबले जित्यो ।

Categorized in खेलकुद