STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लामो समयपछि पर्‍यो पानी

Janjati Khabar – Janjati Khabar | २०८० माघ २, मंगलबार

काठमाडौँ - लामो समयपछि देशका विभिन्न ठाउँमा पानी परेको छ। जाडो मौसम सकिन लाग्दा पनि खडेरी नहटिरहेका बेला मंगलबार दिउँसो पूर्वी र मध्य नेपालमा पानी परेको छ। 

मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो काठमाडौँ उपत्यकासहितको मौसम बदली हुने अनुमान गरेको थियो। मंगलबार दिउँसो पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु तथा मध्य नेपालमा केही भागमा पनि पानी परेको छ। 

पूर्वी नेपालका उच्च भागमा बाक्लो मात्रामा असिना पनि झरेको छ। केही स्थानमा हिमपात पनि भएको छ। दोलखाको कालिञ्चोकसहितका केही स्थानमा यो हिउँदमा पहिलो पटक हिमपात पनि भएको छ। 

महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मंगलबार दिउँसो देशका विभिन्न भागमा मौसम बदली भएको छ। 

आज दिउँसो कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए। बागमती प्रदेशको दोलखा क्षेत्रमा वर्षा हुने सम्भावना रहेको अर्यालले बताए। 

यतिबेला नेपालमा पश्चिमी वायुसँगै बंगलादेशको दक्षिण भूभाग आसपास अवस्थित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ। जसका कारण बिहानैदेखि देशैभरीको पहाडी भूभागको मौसम बदली छ। 

Categorized in स्वास्थ्य-मौसम