STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोजिन निर्यात घट्यो

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १३, शुक्रबार

रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक बताउँछन् । खर्च धान्नै मुस्किल भएपछि जिल्लामा पहिलो पटक २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाइन उद्योग बन्द गर्न लागेको सञ्चालक दिवाकर खनालले बताउनुभयो । “खर्च धान्न मुस्किल छ, तीन वर्षदेखि घाटामा चलिरहेको छ, घाटामा कति दिनसम्म चलाउनु रु अब बन्द गर्नुको विकल्प नै छैन”, सञ्चालक खनालले भन्नुभयो । एक हजार ५०० मेट्रिक टन रोजिन उत्पादन क्षमता रहेको उद्योगमा तीन सय बढि कामदार कार्यरत छन् । बचेको पुरानो कच्चा पदार्थको काम सकेपछि उद्योग पूर्णरुपमा बन्द गर्ने बताउँदै सञ्चालक खनालले उद्योग बन्द भएपछि कार्यरत कर्मचारीलाई बिदाइ गरिएको पत्र श्रम कार्यालयमा पठाइने बताउनुभयो । बाँकेमा खनालबाहेक, बङ्गलामुखी, मनकामना, गङ्गा, लक्ष्मी रोजिन उद्योग सञ्चालनमा छन् । लक्ष्मी धेरै पहिले बन्द भएर अरुले नै खरीद गरी सञ्चालनमा ल्याएका थिए । यी उद्योगमा झण्डै रु एक अर्ब लगानी रहेको छ । एउटा उद्योगमा न्यूनतम रु पाँच करोडदेखि अधिकतम रु २५ करोडसम्म लगानी भएको छ । हाल सञ्चालनमा रहेका सबै उद्योग करीब बन्द अवस्थामा रहेका खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरानो कच्चा सामान सक्ने काम भइरहेको छ, अरु उद्योगले पनि नयाँ कच्चा पदार्थ ल्याउन छोडिसके, उद्योग बन्दकै अवस्थामा छ ।” रोजिन एण्ड टर्पेन्टाइन नेपालगञ्ज भञ्सार नाकाबाट निर्यात हुने प्रमुख वस्तुमा पर्छ । उद्योग बन्द हुने परिस्थिति बन्नुमा रोजिनप्रति स्वदेशमा अस्पष्ट नीति र रोजिनको प्रमुख बजार भारतमा तथा यसको मूल्य घट्नु हो । विभिन्न औषधि बनाउन प्रयोग हुने भएकाले भारतमा रोजिनको माग धेरै छ । तीन तहका सरकारलाई वितरण गर्ने गरी कच्चा पदार्थको रोयल्टी बुझाउनुपर्दा महँगो हुन गएको उद्योगी बताउँछन् । सरकारले सहुलियत नदिएपछि उद्योगमा ताल्चा लगाउनुपर्ने बाध्यता आएको उद्योगीको भनाइ छ । सञ्चालक खनालले भन्नुभयो, “रोयल्टी बढ्यो, कच्चा पदार्थ ल्याउन लैजान छुटपुर्जीका नाममा अनेक झण्झट हुन थाल्यो, बैंकको ब्याज बढ्यो, यहीबेला भारतमा भाउ घटेको छ, यसरी घाटा ब्यहोरेर उद्योग चलाउनै मुस्किल भएको छ ।” तीन वर्षअघि प्रतिकिलो रु ७२ सम्ममा बिक्री भइरहेको रोजिनको मूल्य त्यसयता रु ६० मा झरेको छ । उक्त मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने उद्योगीको भनाइ छ । रोजिनको कच्चा पदार्थ पहाडमा पाइने सल्लाको खोटो हो । सामुदायिक वनबाट उपलब्ध हुने त्यस्तो खोटो सङ्कलनबाट पहाडमा समेत थुप्रै रोजगारी सिर्जना भएको छ । रोजिन उद्योग बन्द हुँदा त्यहाँ कार्यरत झण्डै दुई हजार मजदूरको रोजगारी सङ्कटमा परेको छ । नेपालगञ्ज भन्सार नाकाबाट निर्यात हुने प्रमुख वस्तु रोजिनले चामल उद्योगकै हविगत ब्यहोरेको छ । नेपालगञ्ज नाका भएर कुनै बेला बङ्गलादेशसम्म चामल निर्यात गरिन्थ्यो । त्यसका लागि जिल्लामा दर्जनौँ चामल उद्योग चौबिसैँ घण्टा चल्थे । बदलिएको समयसँगै अहिले वार्षिक अर्बौंको चामल भारतबाट आयात भइरहेको छ । गत आर्थिक वर्षमा मात्र नेपालगञ्ज नाका हुँदै रु साढे छ अर्बको चामल आयात भएको थियो । लामो समय रोजिन उद्योगमा बिताउनुभएका खनालले सरकारको अस्पष्ट नीतिका कारण रोजिनजस्तै अन्य उत्पादनमूलक उद्योग बन्द भएका बताउनुभयो । भारततर्फ वार्षिकरुपमा रु ७५ करोडसम्मको रोजिन निर्यात हुँदै आएकामा दुई वर्षयता घटेर रु ५० करोडमा झरेको छ । आव २०७५÷०७६ मा नेपालगञ्ज नाकाबाट रु ५० करोड ८५ लाख मूल्यको चार हजार ७६६ मेट्रिक टन रोजिन÷खोटो निर्यात भएको थियो । सोही अवधिमा रु १६ करोडको तार्पिन तेल निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । पछिल्ला वर्षमा रोजिनको निर्यात पनि घट्दै गएको देखिन्छ । त्यसअघि आव २०७४÷०७५ मा रु ५४ करोड ९२ लाख मूल्यको चार हजार ७०० मेट्रिक टनकै हाराहारीमा निर्यात भएको थियो । आव २०७३÷०७४ मा रु ७३ करोड र आर्थिक वर्ष २०७२÷०७३ मा रु ७४ करोड मूल्य बराबरको रोजिन नेपालगञ्ज नाकाबाट भारततर्फ निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ ।
Categorized in बिजनेस