STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को कुन विधामा को उत्कृष्ट ?

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ६, शनिबार

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरियो । शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे ।

नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले तीन विधामा पुरस्कार जितेको छ । ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहान पाएका छन् । यसै फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।

उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘परान’ फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका छन् । उत्कृष्ट पटकथातर्फको पुरस्कार पनि ‘परान’ ले नै जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका हुन् ।

उत्कृष्ठ छाँयाकनको पुरस्कार ‘कोशेढुंगा’ ले पाउँदा उत्कृष्ट म्विादककाृ पुरस्कार पनि यसै फिल्मबाट नहकुल खड़काले प्राप्त गरेका छन् ।

यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ । श्रेष्ठलाई ३ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । ‘रमिताको पिरती’ बाट आना शर्मा र ‘झरी पछिको इन्द्रेणी’बाट बिमोचन दवाडीले जूरी प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ । यो सम्मान पाउनेमा प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, प्रदर्शक डाक्टर सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन् ।

त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र स्वर्गीय पत्रकार दिनेश सिटौलाले पनि विशेष योगदान सम्मान पाएका छन् ।

लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलचित्र पुरस्कार २०८२ पाएको छ । उत्कृष्ठ आदिवासी फिल्मको पुरस्कार भने नेवारी फिल्म ‘इन्दिरा धिमे मैचा’ ले पाएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को निर्णायक मण्डलको संयोजकमा वरिष्ठ अभिनेता हरिहर शर्मा रहेका थिए भने सदस्यहरूमा निर्देशक मिलन चाम्स, वरिष्ठ फिल्म प्राविधिक अरुण थापा, अभिनेत्री सरिता गिरी र संकृतिविद् तथा प्राध्यापक अरुण गुप्तो रहेका थिए ।

Categorized in सिनेमा