STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १, शुक्रबार

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जनाएको हो ।

नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको जनाएको छ । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए ।

प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिबियमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ का चार खेलमध्ये सबै खेलमा नतिजा सुम्पिएको थियो । यससँगै नेपालको विश्व क्रिकेट लिग डिभिजन–२ को शीर्ष तालिकाको तीन भित्र रहन कठिन भएको छ ।

नेपालले नामिबियासँग एक र स्कटल्याण्डसँग दुई हार व्यहोरेको थियो भने एउटा नामिबियासँगको खेल वर्षाका कारण रद्द भएको थियो । सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो ।

सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ । त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ ।

प्रभाकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याबिरुद्धको ट्वान्टी–२० र एक दिवसीय श्रृंखला जितेको थियो । त्यस्तै गत महिना घरेलु मैदानमा सम्पन्न युएईबिरुद्धको एक दिवसीय श्रृंखला पनि नेपालले जितेको थियो ।

यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्ध समेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजिनामा आएको कतिपयले अनुमान लगाएका छन् ।

Categorized in खेलकुद