STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रामेशका राल्फा यादहरु

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २५, शुक्रबार

राजकुमार बानियाँ यसपालि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा घुमाउरो शैलीमा कुलपतिको प्रस्ताव आयो, जनगायक रामेश, ७५, लाई । प्रस्ताव त्यति निको लागेन उनलाई । बरु रामेशकै सिफारिसमा सांगीतिक टोली राल्फाका सदस्य नारायणभक्त श्रेष्ठ (रायन) भए कुलपति । यसपटक संगीत तथा नाट्यमा राल्फाली मित्रमण्डलीका तीन जना परे । कुलपति रायन, सदस्यसचिव श्याम तमोट र सदस्य मेघराज नेपाल (मञ्जुल) । “पहिलो तहका व्यक्तिले हिजो मसँगै काम गरेका हुन्,” उनी सुनाउँछन्, “मसँग सोझै कुराकानी गर्न सक्ने अवस्था हुँदाहुँदै तेस्रो तहबाट आएको प्रस्ताव मैले मानिनँ ।” दौरा, सुरुवाल र टोपीसहित हातमा फूलमाला लिएर स्वागतमा बस्नुपर्ने टीके पदमा जाने इच्छा रामेशलाई कहिल्यै भएन । आफैँ जमानी बसेर अन्तिम पल्ट भनेर भोट हाल्न लगाएको दलका शीर्ष नेता र तिनको व्यवहार ‘सामन्ती’ देखिरहेका छन् उनी । यसअघि पनि उनले सरकारी विशिष्ट विभूषण दिने प्रस्ताव स्वीकारेका थिएनन् । रक्षामन्त्री ईश्वर पोखरेललाई उनले भनिदिएछन्, ‘सबै जनताको सम्मान हुने काम गरिदिनुस्, तपाईं आफैँ पनि सम्मानित हुनुहुनेछ ।” कुलपति र विभूषण छाडेर रामेश अहिले राल्फाकालीन गीत रेकर्ड गर्ने धुनमा छन् । त्यही सत्प्रयासमा ११ वटा गीतको एलबम आएको छ, ‘कोसी छेउ उभेको सिमल’ । ५० वर्ष पुराना गीतको रेकर्ड बुढेसकालमा किन त रु किनभने शुभचिन्तकहरुले पटक–पटक सुझाएछन्, ‘तिमीहरु जीवित छौ र गीत पनि छ । मरेपछि के हुन्छ रु कमसेकम आउने पुस्ताका लागि पनि छाडेर जाओ ।’ बेग्लै विषयवस्तु, शैली र लय बोकेका ६० वटा सबै गीत रेकर्ड गर्ने समय छैन उनीसँग । उनीबाहेक राल्फाका सबैले गाउन छाडिसकेका छन् । “हामी त्यतिबला सामूहिक रुपमा गीत बनाउँथ्यौँ । तर रचनाको क्रेडिट दिन्थ्यौँ मञ्जुललाई,” उनी स्वीकार्छन्, “सम्झनाका पाइलाहरु संस्मरण पनि त्यसरी नै लेखेका हौँ, नाम मञ्जुलकै दियौँ ।” ०१९ मा ओखलढुंगाको प्रतिनिधित्व गर्दै रायन र उनी (त्यतिबेलाका रामेश्वर श्रेष्ठ) रेडियो नेपालको राष्ट्रिय लोकगीत सम्मेलनमा काठमाडौँ आएका थिए । स्कुले शिक्षक श्रेष्ठ बन्धुको गायनबाट नातिकाजी र शिवशंकर प्रभावित भए । रेडियोमा गीत गाउन मन लागे हामी छौँ भनेर ढाडस दिए । यो समय कस्तो भने हिन्दी र अंग्रेजीपछिको दर्जाको मानिन्थ्यो लोकगीतलाई । पाखे वा झ्याउरे भनेर हियाउने प्रशस्तै थिए । “धेरै पढेपछि लेख्न मन लाग्छ, धेरै सुनेपछि गाउन मन लाग्छ,” उनी भन्छन्, “हामी पनि लहडैलहडमा गाउन थाल्यौँ ।” ओखलढुंगा फर्केपछि पूर्वेली लोकभाका संकलन गरेर ल्याए श्रेष्ठ बन्धुले । ०२१ देखि ०२३ सम्म गीत गाउने रहर पूरा गरे रेडियो नेपालमा । गाएको पारिश्रमिक भने पाएनछन् । रेडियोभित्रकै कसैले कीर्ते गरेर झ्वाम् पारिदिएछ । नेपालकै पहिलो सांगीतिक मण्डली राल्फाको प्रसंग उप्किनासाथ रामेश पारिजातलाई सम्झिहाल्छन् । उनीहरुले ‘लोकलहरी’ र ‘हिमाली संगम’ रेडियो कार्यक्रममा प्रस्तुत गरेका गीतको ‘फ्यान’ थिइन्, पारिजात । एक दिन उनले बोलाइछन् । “हामीजस्तो थाङ्नेमाङ्ने र दुब्लापातला गीतांगेलाई पारिजात दिदीले बोलाएको पत्याएका पनि थिएनौँ,” उनी सम्झन्छन्, “मजाक गर्न होला भनेर चैनपुरका ज्ञान उदासमार्फत दिदीको पुतलीसडकको डेरामा पुग्यौँ ।” डेरामै भेटिए, शंकर लामिछाने, भूपी शेरचन, अम्बर गुरुङ, मदन रेग्मी आदि जल्दाबल्दा स्रष्टा । निरन्तरको उठबसपछि पारिजातले नवयुवकहरुको परम्परागत नाम सच्याइदिइन्– रामेश, रायन, मञ्जुल र नोरेम (हरि श्रेष्ठ), अरिम, निनु, निरन आदि । एउटा सांगीतिक र साहित्यिक आन्दोलन उठान गरिदिइन् । त्यसको पनि त नाम चाहियो । रामेशले मञ्जुलको लेख ‘‘गिटारमा सलबलाउँदो धुन ? राल्फा’ बाटै न्वारन गर्न प्रस्ताव गरे, ‘राल्फा’ । शब्दकोशमा राल्फाको कुनै अर्थ थिएन । त्यही अमूर्त र आकर्षक शब्दका कारण त्यो सांगीतिक मण्डलीको खोजी व्यापक भयो । सामाजिक न्यायका लागि अराजक पनि हुनुपर्छ तर हानिकारक हुनुहुन्न भन्ने उनीहरुको मान्यता थियो । तैपनि प्रश्न उठिरह्यो– आखिर तिमीहरुका गीतहरु के हुन् ? उनीहरुले गीतबाटै जवाफ दिए, ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरु, हाम्रा गीतहरु नांगै हिँड्ने गाइने दाइका झुत्रा लुगाहरु, हाम्रा गीतहरु ।’ एक अर्थमा बिटल्सको प्रभाव पनि थियो, राल्फा । बिटल्समा चार सदस्य थिए । राल्फाका मुख्य सदस्य पनि चारै । उनीहरु बिटल्सजस्तै गिटार बोकेर हिँड्थे, कपाल लर्काउँथे । हिप्पी पनि भन्थे कसैकसैले । रुप, शैली, प्रयोगका हिसाबले कतिपय गीत जोन लेनन र बब डिलनको छाप पनि उनीहरुमा देखिन्छ । ०२५ तिर अमेरिका पुगेका रहेछन् राजा महेन्द्र । त्यहाँ बिटल्सलाई सुनेपछि उनले सांस्कृतिक संस्थानका महाप्रबन्धक महेन्द्रनाथ खनालसँग सोधपुछ गरेछन्, ‘हाम्रो नेपालमा यस्तो गीत गाउने कोही छैन ?’ ‘राल्फा भन्ने ब्यान्ड छ सरकार,’ खनालले भनेछन् । राजा काठमाडौँ आएपछि खनालले रायन राल्फालाई सम्पर्क गरेछन् । राजाको रहर रोक्ने ताकत रायनसित सायदै थियो । रामेश पनि अलिक हिचकिचाए । एक त राल्फालीहरु प्यान्ट मात्र लगाउँथे । दौरासुरुवाल, कोट र टोपीवाला औपचारिक भेषभूषा मन्जुर थिएन । अर्को बागी गीत गाउँथे राल्फाली । राजालाई सुहाउने गीत थिएनन् । जसको विरुद्ध गाएको हो, उसैलाई कसरी सुनाउने ? तर खनालले बिन्ती नै बिसाए, ‘लौ न मलाई जोगाई देओ ।’ उनले दौरा, सुरुवालको समेत व्यवस्था गरेर नाचघरमा ओरालेरै छाडे, राल्फालीलाई । राजासमक्ष ठाडै गाउन दिएनन् । सेन्सरसहित चारवटा लोक स्वादका गीत गाए । त्यो दिनको प्रस्तुतिपछि राजाले बालकृष्ण समलाई सोध्न पठाएछन्, राल्फाको अर्थ । रामेशलाई समले सोधेछन्, ‘अल्फा भनेको त पढेको छु, राल्फा भनेको चाहिँ के नि ?’ रामेशले गिटार झ्याङ्ग पारेछन् अनि सोधेछन्, ‘तपाईंले जे बुझ्नुभयो ? त्यही हो राल्फा ।’ राल्फाले ‘नीलो जून’ नामक कार्यक्रम पनि गर्‍यो, पुलिस क्लबमा, ०२५ तिर । ‘सुतेकालाई उठाइदिन्छु, मरेकालाई ब्यूँझाइदिन्छु, आगोलाई सल्काइदिन्छु।।।’ आदि गीत थिए राल्फाका । नेपाली समाजमा हलचल नै ल्याइदियो त्यसले । यिनलाई गाउँबस्तीमा सुनाउन उकासे वामबुद्धिजीवीले । देशभरि ०२३ देखि ०२९ सम्म डुल्यो, राल्फा । वास्तवमै स्वप्निल गीत थिए, ‘गाउँगाउँबाट उठ,’ ‘एक लस्कर भरियाहरु।।।,’ ‘नीलो जून।।।,’ ‘बालुवा, किथ्रा, मरुभूमि।।।,’ आदि पनि । गीत गाउँदा गरिबगुरुवा नजिकिन्थे, धनीमानी परपर हुन्थे । चे ग्वेभारा, लेनिन, हो ची मिन्ह उनीहरुका आदर्श थिए । रामेश–मञ्जुलको बहुचर्चित जोडी एक समय गएर टुट्यो । त्यसपछि राल्फाको यात्रा सकियो । उनी साम्यवाद ल्याउने भनेर होमिए । प्रयोगवादी गीत प्रगतिवादतर्फ ढल्किए । ‘मर्न मन लाग्छ मायालु।।।’ निकै आलोचित भयो, कम्युनिस्ट भएर यस्तो गीत गाउने रु हामीले मर्ने कुरा गर्ने होइन, जगाउने पो हो । त्यसको उत्कर्ष थियो, ‘गाउँ गाउँबाट उठ।।।।’ एक जुगमा एक दिन।।।, आऊ मिलाऊँ हाम्रा हातहरु।।।, संघर्ष हो जीवन।।।, देश जनताको नाम हो।।।, रोक्ने को हो दूरदर्शी विचारका धारा।।।, सुनको बिहान।।।, गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन।।।, कोही त भने जहाजमा।।। आदि गीत पनि रामेशकै सिर्जना हुन् । राल्फाका गीत सुनेर कम्युनिस्ट हुने धेरै भेटिन्छन् । तर, ०४४ तिरै पार्टी सम्बन्ध टुटाएका रामेश अहिले पनि जनताकै सेवामा हाजिर छन् । राजनीतिक ब्रेकपछि नक्सालको बालमन्दिरमा पढाए उनले । ०३८ देखि मुकाम बन्यो, डल्लुको स्वर्णिम स्कुल । त्यही क्रममा चीँ मुसी चीँ।।।, लेकका हामी केटाकेटी।।।, आइतबार बिहान।।। आदि बालसंगीत पनि हाले । स्वर्णिम स्कुलले अहिले उनलाई छुट्टी दिएको छ । बलिदान फिल्मको संगीत, पटकथा र संवाद पनि उनकै हो । १२, १३ वटा एलबमका धनी रामेशबारे पत्रकार डम्बरकृष्ण श्रेष्ठले वृत्तचित्र नै बनाएका छन्, ‘डढेलोबीचका सतिसाल’ । “राल्फा मूलतस् सांगीतिक आन्दोलन थियो । पार्टीहरुले हामीलाई प्रयोग गरे । हाम्रै गीत सुनाएर चुनाव जिते, सरकार बनाए तर जनतालाई केही पनि गरेनन्,” उनी भन्छन्, “अब हामीले कांग्रेस, कम्युनिस्ट हुने होइन, असल मानिस हुनुपर्‍यो, नेपाली हुनुपर्‍यो ।” रामेशको पुख्र्यौली थलो भक्तपुर । घर ओखलढुंगा । जन्मिए तानसेनमा । डोटीमा बाल्यकाल बिताए । ०१६ मा एसएलसी गरे तेह्रथुमको सिंहवाहिनी स्कुलबाट । कर्मथलो बन्यो काठमाडौँ । रामेशको पारिवारिक माहोल सांगीतिक थियो । पिताजी रागरागिनी गाउँथे । दाजु हार्मोनियम बजाउँथे । कतिपय सदस्यले तबला र सितार पनि बजाउँथे । उनको सुर पनि उस्ताद मार्काकै थियो । रामेशका बाबु राणाकालीन हाकिम रहेछन् । दाजु कांग्रेस बनेर राणाविरुद्ध जाइलागेका थिए । उनी पञ्चायतविरुद्ध लड्न उकासिए । “मान्छे आफू उठ्नका लागि सिद्धान्तको जामा दिँदो रहेछ । अनि स्थापित भइसकेपछि अहं र महत्वाकांक्षाको सिकार बन्दो रहेछ,” उनी भनिरहेछन्, “नेपाली युवाले विदेशमा गएर सुरक्षा दिएका छन्, आफ्नै देशको सुरक्षा छैन, नेपालीले विदेशको विकास गरेका छन्, नेपालचाहिँ कसले बनाइदिने ?” राल्फाका गीत काव्यिक उचाइमा छन् । ०२४ मै बनेको गीत हो, ुकोसी छेउ उभेको सिमल जति नि बाँच्दिनँ म, त्यही सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिन म’ । यति मात्र नभएर अर्थहीन र अमूर्त गीत पनि बनाएका थिए, ‘सोलेकेम्बो’ । क्यालेन्डरमा बालिकाको चित्र हेरेर गुनगुनाएको गीत हो, ‘भोल्गाकी सानी नानीलाई।।।।’ । जीवनवादी गीत बनाए, ‘कार्यशील जिन्दगी बगिरहने नदी हो।।।’ । उनलाई लाग्छ, नदीमा फूल पनि आउँछ, फोहोर पनि । बगिरहेको नदी सफा हुन्छ । सुकर्म गर्दै जाँदा जिन्दगी पनि स्वच्छ हुन्छ । रामेशलाई खेद केमा छ भने यी प्रगतिशील गीतहरु जनसाधारणमा पुग्न सकेका छैनन् । यिनको चर्चा त परै जाओस्, खोजीनीति पनि भएको छैन । बेवास्ता कति चर्को छ भने मानौँ नेपाली संगीतको अंश नै होइन । कम्युनिस्टहरुले पनि भोट माग्दाबाहेक अरु बेला यसलाई सुन्दैनन् । उनलाई थाहा छ, एउटा गीत धेरै पटक सुनेपछि मात्र स्वर र लयसँग आत्मीयता बढ्छ । एक–दुई चोटि मात्रै सुनेको भए नारायणगोपाल, गोपाल योञ्जन, अम्बर गुरुङ, नातिकाजी हुन सक्दैनथे । अझ भूपी शेरचन, शंकर लामिछाने, ईश्वरवल्लभ, वैरागी काइँला आदि स्वनामधन्य लेखकले चर्चा गरेकाले नै उनीहरु चिनिएका हुन् । राल्फाका गीत ०६२, ६३ को जनआन्दोलनताका अझ मुखर भए । ती गीतले आन्दोलनकारीलाई ऊर्जा दियो । चल्तीका सुगम गीत र राल्फाका गीतमा फरक छ कि छैन ? छैन भने राल्फा चर्चामा आउँदैन रु रामेशको जिकिर छ– यी गीत मेरा मात्र होइनन्, तपाईंहरुका पनि हुन् । यी जीवनका गीत हुन्, विश्वका गीत हुन् । नेपालीपन बोकेका गीत हुन् । उनलाई खुल्दुली छ, यी गीतलाई नेपाली संगीतको ढुकुटीमा कुन ठाउँमा राखिएला ? साभारः नेपाल राट्रिय साप्ताहिक
Categorized in सिनेमा