STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राप्रपा महामन्त्री लिङ्देनलाई ‘ज्यान मार्ने धम्की’

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २७, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी सांसद लिङ्देनले यही चैत ७ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आएको जिकिर गर्नुभयो । “चैत ७ गतेदेखि निरन्तर मलाई थ्रेट आइरहेको थियो”, उहाँले भन्नुभयो, “कहिले शुभचिन्तक हुँ भन्दै म्यासेज आयो, कहिले तँलाई मार्ने मैले सुपारी लिएको छु भन्दै हिन्दी भाषामा भ्वाइस म्यासेज आयो ।” शुरुमा मोबाइल नं ९८४३९४०२९४ बाट ‘कोही तपाईंलाई मार्न चाहन्छ, तीन जना इण्डियन मान्छे आको थियो, अनि त्योसँग दुई जना नेपाली मान्छे आए र भेटे, शायद एउटा पुलिसजस्तो लाग्यो, अनि तीन जनासँग पेस्तोल पनि थियो, हिन्दीबाट कुरा गर्दै थिए, दुई जना नेपालीले २० लाख दिए, बाँकी ३० लाख काम भएपछि दिने भन्दै गए’ मेसेज९सन्देश० उद्धृत गर्दे लिङ्देनले बताउनुभयो । त्यसपछि मोबाइल नम्बर ९८१३५४४९२९ बाट ह्वाटसएपमा आफूलाई हिन्दी भाषामा ‘तुम्हे मार्नेका मुझे ५० लाख दिया गया है, २० लाख एडभान्स मिला है, बाँकी काम होनेके वाद मिलेगा’ भन्ने भ्वाइस म्यासेज आएको नेता लिङ्देनले बताउनुभयो । ‘तँ राम्रो मान्छे रहेछस्, तँलाइ मारेँ भने मलाई अल्लाले पनि माफ गर्दैन, मैले मिसन छोडेँ, भारत फर्केँ”, अन्तिम भ्वाइस मेसेजबारेमा बताउँदै उहाँले भन्नुभयो, “त्यसपछि मेसेज आएन ।” घटनापछि आफूले प्रहरीसँग सम्पर्क गरेको प्रतिनिधिसभा सदस्य लिङ्देनले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीको सिआइडीले घटनाको अनुसन्धान शुरु गरिरहेको छ, केही मान्छेलाई प्रहरीले पक्राउ परेको छ ।” मोबाइल नं ९८१३५४४९२९ को कल डिटेल्सका आधारमा प्रहरीले झापाको केचनाकवल–२ बाट तिलकदास पराजुलीलाई पक्राउसमेत गरेको छ । प्रहरीले उक्त नम्बरबाट आफूसहित झापालगायत स्थानका चार जनासँग कुराकानी भएको पत्ता लगाएको उहाँले बताउनुभयो । “केही आपराधिक व्यक्ति र केही पार्टीभित्रकै व्यक्तिसँग पनि सम्पर्क भएको देखियो”, उहाँले भन्नुभयो, “पार्टीभित्रकै मान्छे घटनामा संलग्न भएको देखिएको छ ।”
Categorized in अपराध-दुर्घटना