STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रातो मछिन्द्रनाथको रथायात्रा हुने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २०, बिहिबार

विजयरत्न असंबरे

ललितपुर – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि अहिले देशभर लकडाउनको अवस्था छ । यस अवस्थालाई मध्यनजर गर्दै काठमाडौंमा पाहांचःह्रे जात्रा, सेतो मछिन्द्रनाथको रथयात्रालगायत धेरै जात्रापर्व स्थगित भइसकेका छन् । तर ललितपुरमा भने आवश्यक प्रबन्ध मिलाएर रातो मछिन्द्रनाथ (बुंगःद्यः)को महास्नान (न्हवं)लगायत रथयात्राको लागि रथ निर्माण सुरु गरिएको छ । ललितपुरको टंगल बहालअगाडि घःमाः (रथ अगाडि भैरवको मुखाकृति रहने भाग)को निर्माण कार्य थालिएको छ । गुठी संस्थान ललितपुर शाखाका राजन भुजूको प्रमुख उपस्थितिमा बुधबार बसेको एक बैठकले रातो मछिन्द्रनाथको महास्नान यही चैत २७ गते लगनखेलमा गर्ने निर्णय गरेको छ । यसैगरी चैत २७ गते हामोकी (किला) ठोकेर चैत २८ गतेदेखि पूल्चोकमा रथ निर्माण गर्ने निर्णय भएको पनि रथ निर्माणका सिकर्मी समूहका नाइके दिलकुमार बाराहीले जनजाति खबरलाई जानकारी दिएका छन् । महास्नानमा सहभागी हुन १३ जना पुजारी, पूल्चोकमा हामोकी पूजा गर्न बाराही गुठीका ५ जना नाइके, यवाः तथा अन्य गुठीका दुई–दुई गरी ६ जना गुठीयारको लागि आवतजावतको सुरक्षाप्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरसँग बैठकले अनुरोध पनि गर्ने भएको छ । स्मरणीय छ, यही २०७७ साल वैशाख १२ गते रातो मछिन्द्रनाथलाई रथारोहण गराई १५ गतेदेखि रथयात्रा हुने भएको छ ।
Categorized in उपत्यका