STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजमान मोटरसाइकल दुर्घटना ः आठ दिन बितिसक्दा पनि दोषी प्रहरी नियन्त्रण बाहिर

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ बैशाख २२, बुधबार

कलंकी र बल्खु बीचको सीता पेट्रोल पम्प खसीबजार परिसरमा गत बैशाख १५ गते बुधबार राती भएको मोटरसाइकल दुर्घटनामा परी कीर्तिपुर १० वडा चिथु टोलका राजमान महर्जन मृत्यु भएको पनि आठ दिन बितिसक्यो । राजमान महर्जनलाई ठक्कर दिने दुईटा मोटरसाइकल धनीहरु आठ दिन बितिसक्दा पनि प्रहरीले ती दोषीहरुलाई आफ्नो नियन्त्रणमा ल्याउन सकिरहेका छैनन् । कारण दुर्घटना भएको बेला लोडसेडिङ, त्यहाँको सीसी क्यामेराको गड्बडी तथा मोटरसाइकल नम्बर थाहा नहुनु । प्रहरीद्वारा ती मोटरसाइकल एवं दोषी चालकहरुको खोजी तीब्र रुपमा भइरहेको जानकारी दिएको छ । सोही क्रममा मोटरसाइकल दुर्घटनाको फुटेज उपलब्ध गर्न एवं गराउन प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले आग्रह गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कीर्तिपुर १० वडा चिथु टोलका राजमान महर्जनको मोटरसाइकल दुर्घटनाको फुटेज जोसंग भएपनि उपलब्ध गराउन आह्वान गरेका हुन् ।

प्रहरी उपरीक्षक बस्नेतले एक प्रेस वक्तव्य जारी गर्दै फुटेज उपलब्धका लागि आह्वान गरेका हुन् । सार्वजनिक भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘मिति २०७८ बैशाख १५ गते बुधबार राती करिब ७ः०० बजेदेखि ८ः०५ बजे समयभित्र कलंकी रिङरोड सीता पेट्रोल पम्प नजिक बा६५प १५२६ नम्बरको मोटरसाइकलमा सवार राजमान महर्जनलाई नम्बर नखुलेका मोटरसाइकलबाट ठक्कर दिई ज्यान गएको सम्बन्धमा उक्त इलाकाको सीसीटिभी फुटेजमा समेत रेकर्ड नदेखिएकोले उक्त घटना भएको समय कोही कसैले देखेको वा मोबाइलबाट भिडियो कैद गरेको वा खिचेको भए उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्न मिडियामार्फत जानकारी गराउन चाहन्छु ।’

दुर्घटनाको फुटेज उपलब्ध गराउनको निम्ति महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले एक प्रेस विज्ञप्तिमा आफ्नो मोबाइल नम्बर ९८५१०–१७२३७ समेत सार्वजनिक गर्दै पीडित पक्षबाट मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका मृतक राजमान महर्जनका आफन्त आनन्द महर्जनको नाम एवं मोबाइल नम्बर ९८५१०–१०४०९/९८०२००९२७२ का साथ इमेल Email: ananda@escannepal.com पनि सार्वजनिक गरेका छन् ।

त्यस्तै, दुर्घटनामा परी मृत्यु भएका राजमान महर्जनका आफन्त आनन्द महर्जनले एक सूचना सार्वजनिक गरी दुर्घटनाको भिडियो फुटेज उपलब्ध गराउनेलाई भित्री हृदयदेखि धन्यवादका साथ उचित पुरस्कारका साथ सम्मान गरिने जानकारी दिएका छन् ।

काठमाडौंको अति ब्यस्त स्थान तथा प्रहरीसंगै ट्राफिक प्रहरीबाट निरन्तर रुपमा निगरानी रहिरहने स्थानमा मान्छेको ज्यान हुनेगरी दुर्घटना भए पनि सडक सुरक्षा निकायले दुर्घटनाका दोषीहरुलाई यदि नियन्त्रण लिइ कारवाही गर्न सकेन भने नेपाल सरकारका सडक सुरक्षा निकाय कमजोर भएको जनसमुदायद्वारा ठहर हुनेछ । यस्तै, यदि दोषीलाई गिरफ्तार गर्न सकिएन भने ती सडक सुरक्षा निकाय भए पनि नभए पनि केही फरक नहुने र ती सडक सुरक्षा निकाय उच्च ओहोदाका व्यक्तिहरुका लागि मात्र सीमित हुने सम्बन्धित विश्लेषकहरुको भनाई रहेका छन् ।

कीर्तिपुर १० चिथु टोलका राजमान महर्जन दुईटा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । स्थानीय बासिन्दाहरुका अनुसार राजमान महर्जनलाई सुरुमा एउटा मोटरसाइकलले ठक्कर दिई लडाएको र फेरि पछाडीबाट तीब्रगतिमा आइरहेको अर्को मोटरसाइकलले किचेर गएको हो भनिन्छ ।

उक्त दुर्घटनामा परी मृत्यु भएको राजमान महर्जनको टाउको र छातीमा गम्भीर चोटपटक भएको अस्पताल श्रोतले जानकारी दिएको थियो ।

दुर्घटना भएको बैशाख १५ गते राती हो । सरकारले कोरोना संक्रमण महामारी कम गर्नका लागि बैशाख १६ गतेदेखि लकडाउनको घोषणा गरेको हो भने उपत्यकामा बसिरहेको गाउँका नागरिकहरुलाई उपत्यका छाडी आ–आफ्नो गाउँ फर्कनको लागि दुइदिनको समय दिएको र सरकारले दिएको त्यही समय भित्र ती उपत्यकामा बस्ने शहरिया गाउँलेहरु गाउँमा जाने क्रममा उपत्यकाको रिङरोडदेखि अन्य क्षेत्रमा सवारी जाम भएको थियो ।

सवारी जामका कारण दुर्घटना पश्चात् गम्भीर घाइते भएको राजमान महर्जनलाई अस्पताल पु¥याउन कठिन भएको सुनाउँदै मृतक महर्जनका आफन्त आनन्द महर्जनले जामका कारण अस्पताल पु¥याउन आधा घण्टा ढिला भएको जानकारी दिए । काललाई दोष छैन, तर पनि समयमा अस्पताल पु¥याउन सकेको खण्डमा सायद राजमान महर्जन बचिन्थ्यो कि भन्ने आशा गर्न सकिन्थ्यो ।

अस्पताल पुगेपछि चिकित्सकहरुले चेकजाँच गरेको बेला सासः मात्र बाँकी भएको भन्दै घाइते महर्जनको छातीमा पम्प गरी बचाउने प्रयास भए पनि अन्ततः अस्पताल पु¥याउन ढिला भएको कारण राजमान महर्जनको मृत्यु भएको हो भन्न सकिन्छ ।

दुर्घटनामा घाइते राजमान महर्जनको मृत्यु त भइसक्यो । अब सडक सुरक्षा निकाय गम्भीरतापूर्वक छानविन एवं अनुसन्धान गरी दोषी भनिएका दुईटा मोटरसाइकल एवं मोटरसाइकल चालकहरुलाई जसरी भए पनि खोजतलास गरी कारवाही गर्न सकेको खण्डमा मृतक महर्जनको आत्माले शान्ति पाउनेछ । सडक सुरक्षा निकायको जनसमुदायबाट जयजयकार हुनेछ ।

Categorized in अपराध-दुर्घटना