रविन्द्र खड्काको चुनाव जित्ने दावी
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार
नेपाल चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यही जेठ २५ गते नयाँ कार्यसमितिको लागि निर्वाचन गर्दैछ। सो निर्वाचनमा अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । भने, उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेतीले उम्मेदवारी दिएका छन् । महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाको उम्मेदवारी परेको छ ।
सचिव पदमा तीन जनाको उम्मेदवारी छ । कविता गेलाल शर्मा , राजकुमार शाह र पनाह अधिकारी छन् भने, कोषाध्यक्ष पदमा कलाकार सुनिल कटुवाल निर्विरोध चयन भएका छन् । सह(कोषाध्यक्षमा अभिनेत्री पवित्रा आचार्य र डिबी बम्जन चुनावी मैदानमा उत्रिएका छन् ।
अहिले अध्यक्षसहित अन्य पदमा उम्मेदवारी दर्ता गराएका कलाकारहरु आफ्नो लागि भोट माग्न व्यस्त छन् । केही दिन अगाडि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी सरिताले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो एजेन्डा सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो एजेन्डा सार्वजनिक गर्दै संघको भवन निर्माण गर्ने बताएकी छन् । उनले नयाँ र पुराना कलाकारलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छन् ।
यसबीच, अध्यक्ष पदका अर्का उम्मेदवार रविन्द्र खड्काले बिहीवार राजधानीमा एक कार्यक्रमका बीच आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले पनि सरिताझैं संघको भवन निर्माण गर्ने एजेन्डा अगाडि सारेका छन् भने उनले संघको भवन आफ्नो लक्ष्य र उद्येश्य रहेको बताए । उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भने, ुम चार दशकदेखि कलाकारितामा सक्रिय छु । मैले आफ्नो परिवारभन्दा बढी चलचित्र क्षेत्रलाई माया गर्छु र समय दिएको छु । म सधैं कलाकारको हक(हितका लागि लड्नेछु ।ु
कलाकार सदस्यहरुको जीवन बीमा गराउने, कलाकारहरुको आर्थिक समृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, अशक्त कलाकारहरुका लागि आर्थिक स्तरोन्नत्ति गर्न पहल गर्ने, सरकारद्वारा यस वर्षको बजेटमा घोषणा गरिएको सामाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने, फान अवार्डलाई निरन्तरता दिने, संघलाई राजनीति र राजनैतिक विचारबाट अलग राख्ने उनले सार्वजनिक गरेको २१ बुँदे प्रतिवद्धता पत्रमा उल्लेख छ ।
उनलाई अध्यक्षमा समर्थन गर्न कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार विनोद कुमार भट्टराई र रेजिना उप्रेतीको पनि उपस्थिति देखिएको छ । महासचिव पदका उम्मेदवार चेतबहादुर सिंह, सचिव पदकी प्रत्यासी पनाह अधिकारी, कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका सुनिल कटुवाल, सह(कोषाध्यक्षमा उम्मेदवारी दिएकी पवित्रा आचार्य समेतको उपस्थिति थियो । अध्यक्ष खड्काको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा धिरेन शाक्य, विशाल विष्ट, मनोज केसीलगायतका कलाकारहरु पनि उपस्थिति थिए ।
Categorized in राष्ट्रिय