STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

योनिको आत्मालाप (Vagina Monologues)

Janjati Khabar – प्रा. नर्मदेश्वर प्रधान | २०७७ मङ्सिर ६, शनिबार

ईभ एन्सलर (Eve Ensler 1953)प्रसिद्ध अमेरिकी नारीवादी नाटककार हुन् । उनी नाटक लेखिका मात्र हैनन् नाटक खेल्ने रङ्गकर्मी पनि हुन् । उनको नाटकको उद्देश्य मूलतः महिला हिंसा विषय विश्वमा जागरण ल्याउने भएकोले उनलाई नारीवादी नाटककारको रुपमा पनि हेर्ने गरिन्छ ।

ईभ एन्सलरले महिला हिंसामा महिला सुरक्षा, सशक्तिकरण, अस्मितालाई केन्द्रित गरी लेखेको नाटकमा आफ्नै महत्व र समसामयिकता पाइन्छ ।

ईभले आफ्नो नाटक प्रस्तुतिमा देखाएको प्रयोगात्मकता र साहसपूर्ण नवीनताहरुले उनलाई विश्वमा एउटा फरक खालको महिलावादी नाटककारको मान्यता दिइएको छ । नाटक विधा मार्फत् महिलाहरुले भोग्नुपर्ने अनेक खालका हिंसाविरुद्ध विश्वभरी जनचेतना जगाएर विश्वका महिलाहरुलाई सबल बनाउने अभियानका उनी अभियन्ता हुन् ।

ईभ एन्सलरले प्रस्तुत गरेको नाटक हो ‘भजाइना मोनोलग’ (vagina monologue) नाटकको नाम नै ‘योनिको आत्मलाप’ हो । यसमा ईभले योनिलाई केन्द्रीय विषय बनाएर प्रस्तुत गर्छिन् । योनि महिलाहरुको गुप्ताङ्ग हो । परम्परागत संस्कारअनुसार योनि साहित्यमा प्रयोग गरिने विषय होइन । यो फोहरी विषय हो । योनि विषय खुल्ला–खुल्ला चर्चा गरी हिँड्नु सभ्य समाजमा वर्जित हुन्छ । यो निषेधित (taboos) र अश्लील विषय हो । ‘योनि’ लज्जास्पद वस्तु भएकोले यसलाई लिएर सार्वजनिक चर्चा गर्नुहुँदैन र गर्नसकिँदैन भन्ने चलनचल्तीको संस्कार र मान्यता छ । योनिप्रतिको यस्तो मान्यतालाई चुनौति दिएर ईभ एन्सलरले ‘योनिको आत्मलाप’ (vagina monologue) नाटक अभियान अघि बढाइन् । उनको नाटकमा योनिबारे विद्यमान अश्लील अर्थलाई विघटन गर्छिन् । विनिर्माण गर्छिन् । महिलाको अस्मिता, व्यक्तित्व, सशक्तिकरणको प्रतीकको रुपमा योनिलाई प्रस्तुत गर्छिन् । प्रचलित योनिको अर्थ संस्कारलाई उनी उल्टाइदिन्छिन् । योनि विषय नयाँ अर्थ संस्कार, संस्कृति, सौन्दर्य, शास्त्र अगाडि ल्याउँछिन् । योनि महिलाहरुको निकृष्ट अंग हो । तर त्यो महिला पहिचानको चिन्ह (icon) हो । महिलाहरु स्वयंले योनिलाई तुच्छ देख्छन् । आफ्नो शरीरको अंग हो भनेर सम्झन पनि उनीहरु असजिलो मान्छन् । विमुख हुन्छन् । यसबारे उनीहरुमा सही ज्ञान हुँदैन, शरीरको महत्वपूर्ण अंग भए पनि महिलाहरु योनिसँग आफ्नो सम्बन्ध नभएको अनुभूति गरेर बसेका हुन्छन् । यसलाई सम्झन नहुने विषयवस्तुको रुपमा लिएका हुन्छन् ।

आफ्नो शरीरको यस्तो केन्द्रीय अंग योनिप्रतिको विमुखता, अज्ञानता, नकारात्मक धारणा संवेग (negative emotion) को कारणले नै महिलाहरु यौन हिंसाको शिकार हुन्छन् । भइरहेका छन् । महिलाहरु आज यौनिक दृष्टिले अत्यन्त कमजोर (vulnerable) ठानिन्छन् । कति महिलाहरु अनेक परिस्थितिवस जबर्जस्ती करणीमा पर्छन् । बालिका, महिला, वृद्धाहरुसमेत यौन आक्रमणको शिकार हुन्छन् । यस्तो नारकीय महिला हिंसाबाट महिलाहरुलाई कसरी मुक्त गर्ने, कसरी महिलाहरुलाई आफ्नो आत्मबोधको मार्गमा अघि बढाउने यही महान लक्ष्य साकार गर्न ईभ एन्सलरको योनि नाटक अभियान अगाडि बढाउँछिन् । नाटकमा ईभले विशेष गरी महिलावर्गमा आफ्नो अस्मिता शक्तिप्रति सजगता, सचेतना जगाउन योनिलाई मूल मन्त्र, यन्त्रको रुपमा प्रयोग गर्छिन् । महिलाहरुले आफूलाई चिन्न आफ्नो योनिलाई चिन्नुपर्छ । बुझ्नुपर्छ । आफ्नो आत्म (self)  सँगको यसको आत्मीय सम्बन्ध के–कस्तो किसिमको छ महसूस गर्नुपर्दछ । योनि शरीरको निम्नस्तरको अङ्ग होइन । त्यो प्रत्येक नारीको लागि मुटुको पनि मुटु समान (heart of the heart) हो । हुन्छ । त्यसप्रतिको अज्ञानता विमुखताबाट नारी कमजोर, हीन, दुर्बल हुन्छिन् । बन्छिन् । योनिबारे सही ज्ञान, योसँगको आत्मीयता, गर्वबोधले नारीलाई बलवान् बनाउँछ । उसमा आत्मविश्वास बढाउँछ । ‘योनिको आत्मालाप’ (vagina monologue) नाटकमा ईभ एन्सलर विभिन्न महिलाहरुसँग उनीहरुले आफ्ना जीवनमा भोगेका यौनिक अनुभूतिहरु अन्तर्वार्तामार्फत् संलग्न गर्छिन् । अधिकांश महिलाले जीवनमा क्रूर हिंसा, आक्रमण सामना गर्नुपरेको हुन्छ । कति महिलाहरुको जीवन बर्बाद भइदिन्छ । महिलाहरु आफ्ना शरीरका कारण असुरक्षित भइदिन्छ । महिला असुरक्षाको कारण महिलाको योनि हो ।

ईभ एन्सलर स्वयंसँग बाल्यवस्थामा आफ्नै परिवारजनबाट यौन हिंसाको शिकार हुनुपरेको अनुभव छ । अधिकांश यौन हिंसाका तथ्य सत्य बाहिर आउँदैनन् । समाजमा आफ्नो इज्जत गुम्ने चिन्ताले यसलाई गोप्य राखिन्छ । सार्वजनिक गरिँदैन । तथ्यलाई लुकाउने छिपाउने कारणले महिला हिंसा झन्झन् प्रोत्साहित हुन्छ । भइरहेको छ । ईभ विश्व महिला हिंसालाई अन्त गर्न प्रत्येक महिलाले आफ्नो यौनिक अनुभवलाई खुलासा गर्नुपर्छ भन्छिन् । यसलाई लुकाउन महिलाहरुको लागि अहितकारी हुन्छ । महिला हिंसाप्रति जागरण ल्याउन महिलाहरुमा यौनिक ज्ञानबोध, यौनिक अभिव्यक्ति स्वतन्त्रता आवश्यक हुन्छ । विभिन्न उमेरका, विभिन्न क्षेत्रका, विभिन्न व्यवसायका महिलाहरुसँग सम्पर्क राखी ईभले महिलाहरुको यौनिक अुनभूति बटुल्छिन् । यही संकलनको आधारमा उनले ‘योनिको आत्मालाप’ (vagina monologue) नाटक रचना गरिन् । भजाइना मनोलोग नाटक विविध महिलाहरुबाट संकलित यौनिक अनुभूतिहरु, विविध पात्रहरुद्वारा आत्मालाप (monologue) स्वगत कथनको स्वरुपमा प्रस्तुत छ । नाटकमा प्रत्येक पात्रले प्रस्तुत गर्ने आत्मालापमा महिलाहरुले भोग्नुपर्ने यौनिक कथा व्यथाको यथार्थ अभिव्यक्ति हुन्छ । महिलाहरुले विविध परिस्थिति, स्थानमा, विविध समयमा भोग्नुपरेका कटु यौनिक शोषण, हिंसाका अनुभवहरुलाई निरन्तर संकलन गरी यौनिक आत्मालाप नाटकलाई नवीकरण र अद्यावधिक गरिन्छ ।

ईभ एन्सलर आफ्नो योनि आत्मालाप नाटक अभियानलाई विश्वका अनेक देशमा पु¥याउँछिन् । अनेक भाषामा रुपान्तरण गरी प्रदर्शन गर्छिन् । यो नाटकका अभियानको मूल उद्देश्य महिला हिंसाको अन्त र सशक्तिकरण भएकोले यसलाई विश्वव्यापी गर्नुपर्ने लक्ष्य ईभको भइदिन्छ । विश्वभरि महिला हिंसा विरोधमा जागरण ल्याउन र यसलाई जनस्तरमा अभियानको रुपमा पु¥याउनुपर्ने आर्थिक स्रोत संकलन गर्ने उद्देश्य पनि ईभको योनि आत्मालाप नाटक अभियानले लिन्छ । योनि आत्मालाप नाटक अभियान आज अनेक देशमा विस्तारित हुँदैछ । यो नेपालमा पनि आइपुगेको छ । ईभ एन्सलरले देश–विदेशमा आफ्नो योनि आत्मालाप नाटक अभियान अघि बढाउन योनि कार्यशाला गोष्ठीहरु पनि संचालन गर्छिन् । योनि कार्यशाला गोष्ठीहरुमा सहयोगी महिलाहरुले योनि विषय खुल्ला छलफल गर्छन् । यौनिक संरचना बनाएर यसभित्र हुने अनेकौं कोणबारे ज्ञान लिन्छन् । आफ्ना योनि विषय विविध पक्षीय ज्ञान, अनुभव, जिज्ञासाबाटै अन्तक्र्रिया गर्छिन् । लाज, अश्लीलताको संकीर्ण र गलत धारणामा गुम्सिएर आफ्ना महत्वपूर्ण अंग योनि विषयमा अनभिज्ञ नरहने प्रण गर्छिन् । योनि विषयमा आफ्ना आन्तरिक उत्तेजना व्यक्त गर्छिन् । योनि कार्यशालमा सहयोगी महिलाहरुले योनि विषय पोख्त ज्ञान हासिल गर्छन् । महिला हिंसाको विरोधमा आफूलाई दक्ष बनाउँछन् । योनि कार्यशालामा योनि ज्ञान विषय तालिम प्राप्त कलाकार, पात्रहरुले योनि आत्मलाप नाटक देखाउँछन् । योनि, अंगको माध्यमबाट महिला हिंसाको विरोधमा जागरण फैलाउँदैछन् । योनि विषय केन्द्रित भई योनिको गौरव गाथा दर्शाएर देखाउने योनि आत्मालाप नाटक बाहिरबाट हेर्दा अश्लील देखिन्छ । यसमा यौन विषय सबै कुरा, तथ्य खुल्ला हुन्छन् । तर योनि आत्मालाप नाटक अश्लील साहित्य (porn literature) हैन । योनिको खुलस्त चर्चा भए पनि योनि आत्मलापको उद्देश्य नग्नता हैन । यसमा समाज सुधारको पावन उद्देश्य हुँदै यो उद्देश्यमूलक नाटक हो । योनि कार्यशाला वा योनि आत्मलाप नाटकमा हुने योनि विषय खुल्ला चर्चाले सहभागीहरुको मनमा मनोवैज्ञानिक मुक्ति, विरेचनको प्रभाव (cathartic effect) ल्याइदिन्छ, अनुभव गराउँछ ।

ईभको योनि आत्मलाप नाटक अभियानबाट प्रेरित भएर विश्वमा योनि योद्धाहरु (vagina warriors) देखिन्छन् । योनि योद्धाहरु महिला हिंसा, महिला सशक्तिकरणका निम्ति युद्ध गर्न तयार हुन्छन् । महिला शोषण, हिंसा विषय विश्वभरी जागरण ल्याउन ईभ एन्सलरले ‘भजाइना दिवस’ (vagina day) गर्छिन् । V. Day लाई भजाइना अथवा योनि दिवस अथवा महिला हिंसा (violence) विरोधी दिवसको रुपमा लिइन्छ । विभिन्न देशमा यस दिन योनि आत्मालाप नाटक प्रस्तुत गरिन्छ । योनि कार्यशाला गोष्ठीहरु सम्पन्न हुन्छन् । महिला हिंसा विरोधमा जनजागरण अभियान चलाइन्छन् । शुभकामना आदानप्रदान गरिन्छ ।

योनिलाई केन्द्रित गरी अगाडि बढाइएको नाटक अभियानलाई कट्टरपन्थीहरु कटु आलोचना गर्छन् । तर योनि चमत्कारलाई ब्युँझाएर जनअभियान महिला हिंसा विरोधमा अघि बढाई यो विश्वमा नै नवीन प्रयोग भएको देखिन्छ । योनि उत्सव (celebration vagina) उल्लास, उमङ्गसाथ मनाउन योनि योद्धाहरु जुर्मुराउन थालेका छन् ।

Categorized in साहित्य-कला