STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युरोकप २०२० : नकआउट चरणमा डेनमार्क, अस्ट्रिया र नेदरल्यान्डस्

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ८, मंगलबार

युरोकप २०२० को समूह ‘बी’मा रहेको डेनमार्कले यसअघि दुई खेलमा हार व्यहोर्नु परेको थियो । दुई खेल हारेको डेनमार्क समूह चरणबाटै घर फर्कन सक्ने कतिपयको अनुमान थियो ।

तर, सोमबार राति भएको खेलमा रसियाविरुद्ध सानदार जित निकाल्दै डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ । डेनमार्कले रसियालाई ४-१ को अन्तरले हराएको हो ।

खेलको ३८औँ मिनेटमा मिक्केल डम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । दोस्रो हाफको ५९औँ मिनेटमा डेनमार्कका युसुफ पलसेनेले गोल गर्दै अग्रता दोब्बर पारे ।

७०औँ मिनेटमा रसियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अर्टेम डिज्युबाले खेललाई २-१ को स्थितिमा ल्याए । तर, ७९औँ मिनेटमा आन्द्रेस क्रिस्टेनसेनले डेनमार्कका लागि तेस्रो गोल गरे । खेलको ८२औँ मिनेटमा डेनमार्कका जोकिम मिहीले थप गोल गर्दै रसियाविरुद्ध ४-१ को स्थितिमा पुर्‍याए ।

सुरुआति समयदेखि नै खेलमा डेनमार्कले दबदबा बनाएको थियो । रसियाविरुद्ध पनि हारेको भए समूह चरणबाटै बाहिरिने दबाबमा थियो डेनमार्क । सोही कारण डेनमार्क आक्रमक देखिएको थियो ।

यसअघि फिनल्यान्ड र बेल्जियमसँग हारेको डेनमार्क ३ अंकसहित समूहको दोस्रो स्थानमा पर्न सफल रह्यो । गोल अन्तरका कारण ३ अंक नै पाएको रसिया भने चौथो स्थानमा छ । योसँगै रसिया समूह चरणबाट नै बाहिरिएको छ ।

नकआउट चरणमा पुग्यो अस्ट्रिया

युरोकप २०२० अन्तर्गत युक्रेनलाई पराजित गर्दै अस्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा अस्ट्रियाले युक्रेनलाई १-० ले पराजित गरेको हो ।

अस्ट्रियाको जितका लागि क्रिस्टोफ बौमगर्नरले गोल गरेका थिए । खेलको २१औँ मिनेटमा नै उनले गोल गर्दै युक्रेनमाथि अग्रता बनाएका थिए । अन्तत: सोही गोल नै निर्णायक बन्न पुग्यो ।

बल नियन्त्रणको हिसाबमा दुबै टिम प्रतिष्पर्धात्मक देखिए पनि गोल प्रहार गर्ने हिसाबमा अस्ट्रिया युक्रेनभन्दा अगाडि थियो । युक्रेनले राम्रो डिफेन्स खेलेको थियो भने अस्ट्रिया केही आक्रमक देखिएको थियो ।

यसअघि नर्थ मेसेडोनियाविरुद्ध जित निकालेको अस्ट्रियाले दुई खेल जित्दै ६ अंक पाएको छ । समूह ‘सी’को दोस्रो स्थानमा रहेको अस्ट्रिया नकआउट चरणमा पुगेको छ ।

समूह चरणको तीन खेलमा युक्रेनले नर्थ मेसेडोनियाविरुद्ध मात्र जित निकाल्यो । एक खेल जितेको युक्रेन ३ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

नेदरल्यान्डस् पनि नकआउट चरणमा

सोमबार राति नै भएको खेलमा नर्थ मेसेडोनियालाई हराउँदै नेदरल्यान्डस् समूह ‘सी’को विजेता बनेको छ । समूह चरणको खेलमा नेदरल्यान्डस्‌ले युक्रेन, अस्ट्रिया र नर्थ मेसेडोनियालाई पराजित गरेको थियो । तीन वटै खेल हारेको नर्थ मेसेडोनिया भने समूह चरणबाट नै बाहिरिएको छ ।

युरोकप २०२० मा नेदरल्यान्डस्‌ समूह ‘सी’ को समूह विजेता बनेको छ । सोमबार राति भएको खेलमा नर्थ मेसेडोनियालाई ३-० ले पराजित गरेसँगै नेदरल्यान्डस्‌ समूह विजेता बनेको हो ।

नर्थ मेसेडोनियाविरुद्धको खेलमा मेम्फिस डिपाईले २४औँ मिनेटमा पहिलो गोल गर्दै नेदरल्यान्डस्‌का लागि अग्रता बनाएका थिए । दोस्रो हाफमा कप्तान जर्निनियो विचनल्डेमले नेदरल्यान्डस्‌का लागि दुई गोल थपे । उनले ५१औँ र  ५८औँ मिनेटमा लगतार दुई गोल गर्दै खेलमा ३-० को नतिजा दिएका थिए ।

खेलको सुरुआति समयदेखि नै नेदरल्यान्डस्‌ले दबदबा बनाएको थियो । नेदरल्यान्डस्‌ले गोलका लागि थुप्रै अवसर सिर्जना गर्‍यो । नर्थ मेसेडोनियाले भने धेरै अवसर बनाउन सकेन । ७०औँ मिनेटमा नर्थ मेसेडोनियाका खेलाडीले गरेको गोल ‘अफसाइड’ ठहरिएको थियो ।

समूह ‘सी’मा रहेका तीन वटै टिमलाई पराजित गरेपछि नेदरल्यान्डस्‌ समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

Categorized in खेलकुद