STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यलम्बरको शालिकसहितको उद्यान निर्माण शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा यलम्बरको पूर्णकदको प्रतिमा शालिक सहितको व्यवस्थित उद्यान निर्माण शुरु गरिएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो यलम्बरको शालिकसहित व्यवस्थित तथा आधुनिक उद्यन निर्माण शुरु गरिएको हो ।
 
किरात समुदायको इतिहास संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा सो उद्यान निर्माण शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “सो उद्यान निर्माण गर्ने योजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “बुइपामा निर्माणाधीन उद्यानले नगरपालिकाको मात्र नभई प्रदेश नं १ कै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”करीब रु १४ करोडको लागतमा निर्माण गरिने  शालिकसहितको उद्यानका लागि प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख छ । माझकिरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिने उद्यानका लागि नगरपालिकाले गत वर्ष रु ७२ लाख बजेट विनियोजन गरेको थियो ।
 
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिइने गरी निर्माण शुरु गरिएको सो उद्यानभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाइ सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “यलम्बर उद्यानमा अन्य ठाउँमा निर्माण गरिएका आधुनिक उद्यानमा हुने सबै सुविधा हुनेछ”, उहाँले भन्नुभयो, “चारैतिर घेरिएको पार्कको बीचमा यलम्बरको विशाल शालिक राख्ने तयारी गरेका छौँ, त्यो धलौटको हुनेछ ।”
आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको उद्यानमा अहिले प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट र पसल सञ्चालनको काम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो । नगरपालिकासँग सम्झौता गरिएको पहिलो चरणको काम आगामी असार मसान्तभित्र सम्पन्न गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । किराती ऐतिहासिकस्थल बुइपामा बन्ने यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने जिकिर गरिएको छ । आफ्नो क्षेत्रमा किराती समुदायका पहिलो राजा यलम्बरको शालिकसहितको उद्यान निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित छन् । 
चोभारको मञ्जुश्री उद्यान शैलीमा निर्माण गरिने सो उद्यानको आम्दानी ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत प्रदेश नं १ ले लिने जनाइएको छ । निर्माणाधीन उद्यानलाई नगरपालिकाले गौरवको आयोजनाअन्तर्गत राखेको छ । सो उद्यानदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले सो उद्यानलाई महत्वका साथ हेरिएको छ । 
Categorized in राष्ट्रिय