मौरी पर्यटनको प्रवद्र्वन गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ६, शुक्रबार
जिल्लामा आउने पर्यटकलाई मौरी देखाइने र यसको उत्पादन चखाइने भएको छ । मौरीपालनमा अग्रणी मानिएको यो जिल्ला पर्यटकीय दृष्टिले मुलुककै तेस्रो हो ।
भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरी पर्यटन कार्यक्रम शुरु गर्न लागेको हो । प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यालयका प्रमुख शिव रिजालका अनुसार पर्यटकीय क्षेत्र लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । सो कार्यक्रम कुमरोज र सौराहा क्षेत्रमा लागू गरिने उहाँले जानकारी दिनुभयो । यसका लागि प्रदेश सरकारले चालू आवमा रु पाँच लाख विनियोजन गरेको छ ।
पर्यटकलाई लक्षित गरी ती क्षेत्रमा मौरीका घार र उत्पादन देखाउन तथा बिक्रीवितरणमा सहयोग गरिने रिजालले बताउनुभयो । मौरी पर्यटनमा विशेषगरी महका परिकार खान पाउनुका साथै मौरीको टोकाइबाट फिजियो थेरापी ९एपी थेरापी० गराउने, मौरीको पोलन सङ्कलन गरी बिक्रीवितरण गर्ने, शाही खुराक उत्पादन गरी पर्यटकलाई बिक्रीवितरण गर्न लगाउने लगायतका काम गरिने छन् ।
रिजालका अनुसार मौरी पर्यटनका लागि अहिलेको बजेटले पूर्वाधार निर्माण र यसको अनुसन्धान गरिनेछ । बजेट थप माग गरिएको भन्दै उहाँले बजेट पूर्णरुपमा आएसँगै मौरी पर्यटन कार्यक्रम अघि बढ्ने बताउनुभयो । नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले यसले मौरीको उत्पादनले बजार पाउने र भ्रमण वर्षलाई सहयोग पुग्ने बताउनुभयो । यस्ता कार्यक्रमले कृषकलाई उत्साहित बनाउने र जिल्लामा पर्यटकको बसाइ लम्बिने बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले नयाँ नयाँ वस्तु पर्यटकलाई देखाउँदा पर्यटकहरु खुशी हुने र बसाइ बढाउन सकिने बताउनुभयो । जिल्लामा गन्तव्य थपिँदै जाँदा यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढ्दै जाने उहाँको भनाइ छ । जिल्लामा आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हो । यहाँका दुर्लभ वन्यजन्तु हेर्न पर्यटक बढी आउने गर्दछन् । वार्षिक दुई लाख हाराहारी पर्यटक जिल्ला भित्रने गरेका छन् ।
Categorized in राष्ट्रिय