Salt Trading
Swasthya Mantralaya
Nhoo dan 1141

मृतक राजमान महर्जनलाई न्याय दिऔं, दोषीलाई खोजतलास गरी कारवाही गरौं

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १७, शुक्रबार

ललेन्द्र शाक्य

२०७८ बैशाख १५ गते बुधबार राती ८ः१५ बजे । बल्खु र कलंकी बीचको कीर्तिपुर छिर्ने सीता पेट्रोल पम्पतिरको घुम्ती मोहदा बाटो । जहाँ कीर्तिपुर नगरपालिका १० वडा चिथु टोल निवासी ५० वर्षीय राजमान महर्जनको मोटरसाईकल दुर्घटनाबाट असामयिक निधन हुन पुग्यो ।

दुर्घटनाको विषयमा सीता पेट्रोल पम्प वरिपरिका स्थानीय बासिन्दाहरुले राजमान महर्जनलाई दुईटा बाईकले हानेको बताउँछन् ।   

‘बैशाख १५ गते बुधबार राती ८ः१५ तिरको समय, चक्रपथको पुरै बाटो अति जाम थियो । सरकारले लकडाउनको समय काठमाडौं बाहिर आफ्नो गाउँघर जाने सचेत नागरिकहरुका लागि २ दिनको समय दिइएको कारण फराकिला सम्पूर्ण सडक मार्ग जाम भएको अवस्था थियो । राजमान महर्जन कीर्तिपुर छिर्नको लागि कलंकीबाट सीता पेट्रोल पम्पको टर्निङ्गतिर आइरहेको थियो । बल्खुतिरबाट आइरहेको एक बाईकले टर्निङ्गतिर गइरहेको राजमानको बाइकमा ठक्कर दिए । राजमान महर्जन बाईकबाट उछिटिएर सडकतिर लडेको थियो । फेरि बल्खुबाटै आइरहेको पछाडिको अर्को बाईकले लडिरहेको राजमान महर्जनलाई किचेर गएको देखिन्छ । जामका कारण घाइते राजमान महर्जनलाई समयमैं अस्पताल पु¥याउन सकिएन । अस्पताल पुग्ने बितिकै चिकित्सकहरुले सास बाँकी रहेको जानकारी आफन्तलाई दिदैं घाइते राजमान महर्जनको छातीमा पम्प गरी बचाउँने प्रयास गरेको थियो । तर सकिएन बचाउन राजमान महर्जनलाई । उहाँको असामयिक दुःखद् निधन भयो । यदि सडक जाम नभएको भए समयमैं अस्पताल पु¥याउन सकेको खण्डमा राजमान महर्जन बचिन्थ्यो कि भन्ने आशा थियो ।’

राजमान महर्जनले लगाईराखेको हेलमेट पनि कुल्चिएको अवस्था थियो । छाती र टाउकोमा गहिरो घाऊ भएको अवस्था थियो । राजमान महर्जनलाई पहिले हान्ने बाईक र त्यसपछि किच्ने बाईक गरी दुईटै बाईक हालसम्म पनि फरार रहेको अवस्था र सम्बन्धित प्रहरी निकाय खोजतलासमा जुटिरहेको दिवंगत राजमान महर्जनका आफन्तजन बताउँछन् ।

दुर्घटना एक दुःखद् क्षण, घटना भएको समय पुरै सडक जाम अनि त्यही समय बत्ती पनि गएको लोडसेडिङ्ग भइरहेको स्थानीय बासिन्दाले भनेको दिवंगत महर्जनको परिवार स्रोतले बताएका छन् । त्यहाँ रहेका सीसी क्यामेरा चेक गर्दा केही दृष्य कैद नभएको र सीसी क्यामेरा नै बिग्रिरहेको कुरा पनि बाहिर आएको छ ।

अब दुर्घटनाबाट मान्छेको ज्यानै गइसकेको छ । दुर्घटना गरी फरार भएका ती दुईटा बाईक र बाईक धनीलाई प्रहरी निकायले गिरफ्तार गर्नसक्ने अवस्था छ कि छैन ? जनसमुदायहरुको गुनासो रहेको छ । यदि ती फरार दुईटा बाईक र बाईक धनीलाई प्रहरीले समाउन सकिएन भने सडक सुरक्षा निकाय कमजोर भएको ठहर हुनेछ र आम नागरिकहरु सडकमा असुरक्षित भएको अनुमान लगाउन सकिन्छ ।

त्यही दिन, राती ९ः३० बजेतिर, राजमान महर्जन दुर्घटना भएको आसपासमैं फेरि अर्को बाईक दुर्घटना भएको खबर पनि स्थानीयले दिएको छ । यदि सीसी क्यामेरा बिग्रेको हो भने सडक सुरक्षा निकायले टाईम टाईममा अनुगमन गरी ती बिग्रेका सीसी क्यामेराहरु जिम्मेवारीबोधका साथ मर्मत गर्नुपर्ने देखिन्छ । जब दुर्घटना हुन्छ, तब मात्र त्यहाँको क्यामेरा त बिग्रेको छ भन्दै जिम्मेवारीबाट पन्छिने बाटो कदापी पनि सडक सुरक्षा निकायले रोज्न नहुने देखिन्छ । किनकि, सडक सुरक्षा निकाय जनताका सेवामा समर्पित निकाय हो, सडकमा राखिने सीसी क्यामेरा सडक सुरक्षा निकायको प्रमाण रुपी आँखा सरह हो । यदि कारवाही गर्न सकिएन भने सडकमा राखेका सीसी क्यामेराको के अस्तित्व रह्यो र सडक सुरक्षा निकायले जनता सुरक्षित भएको प्रत्याभूति कसरी दिन सकिन्छ र ?  

आशा गरौं, सडक सुरक्षा प्रहरी निकायले दुर्घटनामा सम्बिन्धत ती दुईटा बाईक र बाईक धनीको खोजतलास गरी कारवाहीका साथ मृतक आत्मालाई न्याय दिनेछ र सडक सुरक्षा निकाय संवेदनशील भई दोषीलाई कारवाही गर्न सक्षम छ भन्ने आभाष सम्पूर्ण जनमानसमा दिनेछ भन्ने पक्षमा सम्पूर्ण देशबासी आशावादी होऔं ।

Categorized in अपराध-दुर्घटना
Newa Online Adv