STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

मुक्त हलिया एक दशकदेखि सामुदायिक वनको आश्रयमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १, बुधबार

डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो । विसं २०६६ मा असिग्राममा बाढीले धनजनको क्षति पु¥याएपछि १८ परिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन् । उनीहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए । सामुदायिक वनसँगको सम्झौता म्याद सकिएको पनि तीन वर्ष भइसकेकाले अब के गर्ने भन्ने अवस्था सिर्जना भएको मुक्त हलिया दीपक कामीले बताउनुभयो । जिल्ला मुक्त हलिया समाज डडेल्धुराले विसं २०६४ मा गाउँपालिका–१ मा १२२ मुक्त हलियाको नाम सङ्कलन गरेको थियो । तर, ती नाम अहिले गायब भएको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घकी केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले बताउनुभयो । महासङ्घका अध्यक्ष ईश्वर सुनारले उनीहरूको नाम भूमिसुधार मन्त्रालयले लिएको तथ्याङ्कबाटै हटाएको बताउनुभयो । मुक्त हलियाको नाम गायब हुनुमा राजनीतिक दलकै नेतृत्वको हात रहेको उनीहरुको अनुमान छ । विसं २०६६ मा आएको बाढीबाट पूरै बस्ती बगाएपछि मुक्त हलिया असिग्रामको सामुदायिक वनको आश्रयमा पुगेका उनीहरूको अवस्था निकै दयनीय छ । उनीहरू अहिले न त साहुको हलो जोतेर खाने अवस्थामा छन् न उनीहरूसँग बस्नलाई आफ्नो घर नै छ । अहिलेसम्म सरकारले मुक्त गरेको परिचयपत्रसमेत नदिएको मुक्त हलिया दीपक कामी बताउनुहुन्छ । “बाढीले सिङ्गो बस्ती नै उजाड भयो, घरजग्गा, पशुचौपाया सबै बगायो, १० वर्षदेखि सामुदायिक वनमा बस्न बाध्य छौँ”, उहाँ भन्नुहुन्छ, ‘हावाहुरी चल्दा रूख ढलेर किच्ने हो कि भन्ने सन्त्रासमा बाँच्नुपरेको छ ।” डडेल्धुुरामा दुई ५५१ मुक्त हलियाले परिचयपत्र पाएका छन् । अझै करीब दुई हजारको हाराहारीमा मुक्त हलियाको सङ्ख्या छुटेको मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ । – रासस
Categorized in राष्ट्रिय