मिसेस भोग नेपाल–२०२५ को उपाधि सुमी मल्ललाई
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ फाल्गुण ८, बिहिबार
हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् । प्रतियोगितामा रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् ।
ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी तथा स्वेता बज्राचार्यबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । सार्वजनिक गरिएको नतिजा अनुसार सञ्जु श्रेष्ठले फर्स्ट रनर्सअप, प्रिया खड्गीले सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्यले थर्ड रनर्सअपको उपाधिमा चित्त बुझाए ।
निकै भव्य र्याम्पमा आयोजना गरिएको यो रोमाञ्चक तथा शालिन प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए । विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए ।
झण्डै दुई महिना लामो कठोर प्रशिक्षणपछि सहभागिहरु ग्राण्ड फिनालेमा प्रस्तुत भएका थिए । आकर्षक साज–सज्जा तथा प्रकाश संयोजनसहितको र्याम्पमा साँझ छ बजेदेखि प्रारम्भ भएको प्रतियोगिताको पहिलो चरणमा प्रतियोगिताको तयारी क्रममा गरिएका सम्पूर्ण गतिविधिहरु समेटिएको भिडियो अर्थात जर्नी भिडियो प्रस्तुत गरियो । भिडियोमा प्रतिस्पर्धिहरुको यात्रा तथा मिसेस भोग नेपालका विभिन्न अभियानहरु समेटिएको थियो ।
राहुल श्रेष्ठको गायनमार्फत अघि बढेको प्रतियोगिताको चौथो ‘लेट्स ड्रेस यूकेटिएम’ सिक्वेन्समा सबै प्रतिस्पर्धिेहरुले आकर्षक पहिरनहरु प्रस्तुत गरेका थिए । आरजू क्लोथिङ सिक्वेन्समा पनि प्रतिस्पर्धिहरुले उक्त ब्राण्डका पहिरनहरु प्रदर्शन गरेका थिए । त्यसपछिको ‘प्रेटी ओमन सिक्वेन्स’ मा प्रतिस्पर्धिहरु स्टाइलिस शैलीमा प्रस्तुत भए ।
त्यसपछि स्टेजमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मायाबी’ का अभिनेता समिम खान, अभिनेत्री दीपिका प्रसाई तथा निर्माता ध्रुव न्यौपाने प्रस्तुत भएर फिल्मको गीत तथा ट्रेलर प्रदर्शन गर्दै उपस्थित दर्शकलाई फिल्मका बारेमा जानकारी गराए ।
मिसेस भोग नेपाल २०२५ मा सुमी मल्ल, सरिता डंगोल, रुथ सिवाकोटी, रेनु सुर्खेती, मोनिका नापित, इन्दिरा बस्नेत, जयत्री तामाङ, रञ्जना बम, ज्योती कार्की, अर्चना चौधरी, कोरोना घिमिरे रञ्जित, प्रिया खड्गी, शर्मिला गिरी, बिनिसा थापा, स्वेता बज्राचार्य, सीमा भूर्तेल तथा सञ्जु श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक संस्था हाउस अफ फेसनकी संस्थापक ओशिमा बानु, सिइओ सञ्जिव तुलाधर, प्रवन्ध निर्देशक वासिम मलिक तथा हाउस अफ फेसन नेल्स स्टुडियो एण्ड बाइट्सका प्रवन्ध निर्देशक निग्मा जिमी शेर्पाले ‘मिसेस भोग नेपाल २०२५’ को ग्राण्ड फिनाले भव्य, सभ्य तथा निष्पक्ष रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन् ।
Categorized in साहित्य-कला

