STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिथिला परिक्रमाका श्रद्धालु जनकपुरबाट कल्याणेश्वर प्रस्थान

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ४, शुक्रबार

हिमांशु चौधरी

जनकपुरधाम, ४ फागुन,‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । सो अनुसार बुधबारबाट शुरु हुने भनिएको परिक्रमा तिथिमितिमा घटबढका कारण बिहीबारबाट शुरु भएको छ । मिथिला महात्म्यकाअनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ ,यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ । यसप्रकारको धार्मिक आस्थाका कारण नेपालका कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सामेल हुन्छ । “जय सिया राम” “जय सीताराम” को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, कर्ताल ध्वनीसँगै श्रद्धालुहरु श्री मिथिलाबिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जोकोहीलाई पनि मोहितपार्छ । एक सय ३० किलोमिटरको क्षेत्रमा पदयात्रा गरिने यो परिक्रमामा सामेल भए पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ । अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नांगै खुट्टा पदयात्रामा सामेल हुनेहरु ब्रह्मचार्य जीवनपालन गर्नुपर्ने हुन्छ । इतिहासकारका अनुसार यो परिक्रमा विस १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जंगल थियो भने हाल बस्ती रहेको छ । यो परिक्रमाको डोला धनुषा जिल्लाको कचुरी गाउँको मिथिलाबिहारी मठबाट उठेर हनुमान नगरमा राति बास बस्दछ । त्यहाँ नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान सीतारामको पूजनपछि हनुमानमूर्तिको दर्शन र आशिष लिने चलन छ । परिक्रमामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ । परिक्रमाको दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत बिहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ । भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बास बस्ने र अन्य दिनझैं भक्तिभावमा लिन हुने चलन छ । प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ । गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकी माताको विवाहमा मटकोर गरिएको ठाउँले ख्याति प्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारी मधवापुरबाटसमेत श्रद्धालु आउने गर्छन् । मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउँमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडइ भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ । यहाँबाट धु्रवको तपोभूमि धु्रवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ । इच्छावती नदी भगवान रामको होली उत्सव मनाउन सिर्जना भएको थियो । कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ । यो स्थान पाँच पर्वतको संगमस्थल रहेको छ । परवताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ । दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालु बास बस्छन् । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ । त्यसपछि औरही, करूणा हुँदै पुनः कल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्त गृह परिक्रमा गरी मेला सम्पन्न हुन्छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परो छ ।  
Categorized in राष्ट्रिय