relans
ni new 83
nib 2082 5

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शन

Janjati Khabar | २०७९ भाद्र २६, आइतबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागको आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश र फ्रान्सका १९ कलाकारले कोरेका २४ कला प्रदर्शनीमा राखिएका छन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको उल्लेख गर्दै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताउनुभयो । उहाँले नेपाली कलाकारबाट कोरिएका कला बिक्रीवितरण नहुँदा कलाकारको मिहेनत खेर गएको उल्लेख गर्नुभयो । नेपालमा निर्माण भएका सरकारी तथा निजी भवनमा नेपाली कलालाई प्रयोग गरेमात्र कलाकारको मिहेनतको कदर हुने खनालको भनाइ थियो ।
वरिष्ठ कलाकार राधेश्याम मुर्मीले देशको चिनारी कला भएकाले राज्यले कला क्षेत्रको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा पनि यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।
जिपी कोइराला फाउन्डेशन, आर्ट एन्ड कल्चरका संयोजक श्यामसुन्दर यादवले फाउन्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताउनुभयो । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको उहाँको भनाइ छ । उक्त प्रदर्शनीमा फ्रान्सका कलाकार ग्रेभी भिसेन्ट, बङ्गलादेशका कलाकार मामुदा अफ्रा मीम, कनिका वैद्य, नेपाली कलाकार जया शर्मा, विक्रम प्रजापति, रविना बज्राचार्य, विभूषण ताम्राकार, प्रितम थापा, शैली बज्राचार्य, रत्न शाक्य, जीवन चौधरी, उमेश चौधरी, विष्णु चौधरी, निप्सुन राई, रेनुका महर्जन, रञ्जु दर्नाल, साब्रत आचार्य र श्यामसुन्दर यादवको कला राखिएका छन् । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

Categorized in उपत्यका
ppp 2