STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिथिलामा बढ्दै राखीको रौनक

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ७, बिहिबार

महोत्तरी, मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै चन्द्रमासको साउन प्रारम्भसँगै हुन्छ । वर्षको प्रारम्भसँगै साउन शुक्लपक्ष सुरु हुनासाथ चाडपर्व बाक्लिँदै जान्छन् ।

    मिथिलामा साउन शुक्लपक्षभित्रै मधुश्रावणी पर्व समापन, झुलनोत्सव, नागपञ्चमी पर्व पर्दछन् । यी पर्वसँगै साउन शुक्लपक्षमा खास रौनक भने ‘राखी’ पर्वको देखिन्छ । अहिले साउन शुक्लपक्षको करिब मध्यतिर आइपुग्दा महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ ९रक्षाबन्धन० पर्वको रौनक ह्वात्तै बढेको छ । पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थालेसँगै मिथिला क्षेत्रमा अहिले रमझम बढेको हो । मिथिलामा यही भदौ ९सौरमासको० १४ गते बिहीबार ‘राखी’ पर्व मनाइँदैछ ।

    मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै ‘राखी’को चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल, ठूलठूला व्यापारिक प्रतिष्ठान हुन कि चलचित्र घर सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका सुनिन्छन् । चारैतिर पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय बनेको छ ।

    मिथिलामा अहिले जताततै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मिठो धुन गुञ्जी रहेका छन् । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीविरङ्गी ‘राखी’ ९साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा० बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै ‘राखी’को तयारीसँग सम्बन्धित हुने गरेको छ ।

    “दाजुभाइ को कता छन् रु उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु अहिलेको तयारी हो”, पर्वबारे जलेश्वर नगरपालिका–२ की सामाजिक कार्यकर्ता साधना वर्मा भन्नुहुन्छ । मैथिल दिदीबहिनीले पर्वका लागि टाढाटाढा रहेका दाजुभाइलाई फोन गरेर सम्झदै राखीको निम्ता गर्दैछन् ।

    अविवाहित दिदीबहिनीलाई त एउटै घरमा भएपछि दाजुभाइलाई निम्ता दिन हतार हुँदैन । विवाह भएर आफ्नो घरजममा लागेका दिदीबहिनी भने साउन शुक्लपक्ष लाग्नासाथ निम्ताको तारतम्यमा लाग्छन् । “मैले त दाजुभाइलाई फोन गरेर निम्ता गरीसके”, महोत्तरीकै भङ्गाहा–४ रामनगर घर भएकी आजादी कुशवाहा भन्नुहुन्छ, “सबै दाजुभाइ मेरै घर आउने टुङ्गो भयो ।” बर्दिबास–१२ बिजलपुरा माइती भएकी कुशवाहा दाजुभाइको स्वागतको तयारीमा अहिले नै लाग्न थाल्नुभएको छ ।

    त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिन तल्लीन छन् । साउन शुक्लपक्ष सुरु भएयता दाजुभाइप्रति देखाइने वास्ता र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको मैथिल दिदीबहिनी बताउँछन् । पर्वको मुख्य दिन अझै सात÷आठ दिन बाँकी छँदै अहिले सिङ्गो मिथिला क्षेत्र नै पर्वको तयारीमा उमङ्गीत छ । 

    मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी ९मिथिलाका नारी० चेलीहरुको चहलपहल अहिलेदेखि नै बढेको छ ।

    सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् ।

    यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउन लागेका छन् । पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीहरुको भनाइ छ । पर्वका लागि अब सात÷आठ दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फुर्सद नभएको सीतापुर बजारमा राखी बिक्री गर्दै आउनुभएका रामभगत साह बताउनुहुन्छ ।   

    सत्ययुगमा तीनै लोक ९स्वर्ग, मत्र्य र पाताल०को अधिपति रहेका दानवराज वलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन ९रक्षाकवच० बाँधी दिएका र सो युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।

    पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको शिक्षा क्षेत्रमा उपसचिव पदमा रही लामो सरकारी सेवाबाट अवकाश लिनुभएका जिल्लाकै जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका ८२ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ ।

    पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा ‘राखी’ राखेर हुलाकमार्फत पठाउने पुरानो चलन हराए पनि मोबाइलमै राखीको तस्विर खिचेर पठाउने बढेका छन् ।

    पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बी भित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधी दिन पर्वको तयारीमा देखिन्छन् ।

    पछिल्ला दिनमा पर्व हिन्दू धर्मावलम्बीको मानिँदै आइए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरीका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरुले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै जानुले यो पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको सम्सी गाउँपालिका–६ सम्सीका इस्लाम धर्मावलम्बी ३५ वर्षीय युवा अहमद इम्तियाज बताउनुहुन्छ ।

Categorized in राष्ट्रिय