STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मा‍‍‌ओवादीबाट एमाले गएका चार मन्त्रीको सांसद पद गुम्यो

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २७, शुक्रबार

प्रधानमन्त्री केपी ओलीको क्याबिनेटमा सहभागी चारजनाको सांसद पद खारेजीसँगै मन्त्रीबाट समेत पदमुक्त भएका छन् । उनीहरूलाई मन्त्रीमा निरन्तरता दिने हो भने प्रधानमन्त्री ओलीले पुनर्नियुक्ति गराउनुपर्ने हुन्छ ।

बिहीबारको बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ को उपदफा १ र प्रतिनिधिसभाको नियमावलीको नियम २१२ को उपनियम १ अनुसार चारजना सांसद पदमुक्त भएको घोषणा गरेका थिए । माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका चार जनालाई सांसदबाट हटाएको पत्र गत मंगलबार संसद् सचिवालयमा दर्ता गराएको थियो ।

सांसद पदमुक्त हुनेमा ऊर्जामन्त्री रहेका टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री रहेका प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री बनेका लेखराज भट्ट र श्रममन्त्रीको जिम्मेवारी समालेका गौरीशंकर चौधरी छन् ।

माओवादी केन्द्रले कारबाही गरेका रायमाझी, भट्ट, साह र चौधरी प्रत्यक्ष निर्वाचित सांसद हुन् । रायमाझी अर्घाखाँचीबाट निर्वाचित थिए भने भट्ट कैलाली ४ का सांसद थिए । कैलाली ३ बाट चौधरी र साह रौतहट ३ बाट निर्वाचित थिए ।

नेकपा दुई समूहमा कित्ताकाँट भएको अवस्थामा प्रचण्डको साथ छोड्दै ओली समूहमा गएबापत उनीहरूले मन्त्री पद पाएका थिए । भट्टले ५ मंसिर २०७६ मा उद्योगमन्त्रीको जिम्मेवारी पाएका थिए । यता रायमाझी, साह र चौधरी १० पुस २०७७ मा प्रधानमन्त्री ओलीले क्याबिनेट विस्तार गर्दा मन्त्री भएका थिए ।

२३ फागुनमा सर्वोच्चको फैसलापछि ब्युँतिएको एमाले अहिले दुई समूहमा विभाजित छ । माधव नेपाल समूहका सांसदलाई आफूतर्फ ल्याउनका निम्ति प्रधानमन्त्री ओलीले उनीहरूलाई मन्त्रीमा पुनर्नियुक्ति गराउने सम्भावना कमै रहेको छ ।

Categorized in राजनीति