STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माल्दिभ्सविरुद्ध मनिषको शानदार गाेलबाट नेपाल विजयी

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १६, शनिबार

माल्दिभ्सको सबैभन्दा ठूलो शहर मालेमा हिजो राति नेपाली राष्ट्रिय फुटबल टोलीले माल्दिभ्समाथि २२ वर्षपछि जित निकाल्यो ।

सन् १९९९ को सागमा १ गोल खाएर दुई गोल हानेयता माल्दिभ्सलाई नेपालले जित्न सकेको थिएन । तर, राजधानी मालेस्थित नेसनल फुटबल स्टेडियममा पुगेर नेपालले माल्दिभ्सलाई १–० ले निराश पारिदियाे । 

दक्षिण एसियाली फुटबलको सर्वोच्च र सर्वाधिक महत्त्वको प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालको यो सुखद् सुरुवात हो । र, सुन्दर थालनीकाे नायक बने फर्वार्ड मनिष डाँगी ।

अन्तिम अन्तिमतिर मैदान पसेर गोल गरेका मनिषको चौतर्फी वाहवाही छ । कतिपयले उनलाई रोनाल्डो, मेस्सीजस्तै खेलेको भनेर तारिफ गरिरहेका छन् । हुन पनि, बराबरीमा टुङ्गिन लागेको खेललाई एकाएक नेपालको पक्षमा पारेका थिए उनले । त्यसैले मनिषको तारिफ नहुने कुरै भएन ।

तर, उनको मैदान प्रवेश र गोल गराइ रोचक छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ६९औँ मिनेटमा नवयुग श्रेष्ठकाे ठाउँमा मनिषलाई मैदान छिराएका थिए । त्याे बेलासम्म उनी मैदान बाहिरबाट खेल हेरिरहेका थिए । 

खेल गोलरहित बराबरीमा चलिरहेको थियो । दुवैतिरबाट गोलको प्रयास भइरहेको थियो तर दुवै टिम बारम्बार चुकिरहेका थिए ।

खेल सकिन ५ मिनेटजति बाँकी थियो । विशाल राईले मिल्डफिल्ड कटाएको बल मनिषले भेट्टाए । उनी बल लिएर विपक्षीको गोलपोस्टतिर अघि बढे ।

यस क्रममा मनिषले विपक्षी तीन डिफेन्डरलाई छक्याए । र, वन भर्सेस वनको स्थितिमा गोलरक्षकलाई बिट गरे । खेल सकिनुभन्दा २० मिनेटअघि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका उनले प्रशिक्षक अल्मुताइरीको निर्णयलाई सही साबित मात्र गरेनन्, हिमाली देश नेपाल अन्तर्राष्ट्रिय खेलमा सशक्त प्रदर्शन गर्न काबिल छ भन्ने सन्देश पनि दिए । यसअघि मनिषले राष्ट्रिय टिमको डेब्यु खेलमै इराकविरुद्ध गोल गरेका थिए । 

पछि मिडियालाई प्रतिक्रिया दिँदै मनिषले प्रशिक्षकको विश्वासअनुसार गोल गर्न अफू सफल भएको बताए । ‘प्रशिक्षकले तिमीले गोल गर्छौं भन्दै विश्वास गरेर मैदान पठाउनु भएको थियो’, उनले भने, ‘ममाथि विश्वास गर्नुभएकोमा प्रशिक्षकलाई धेरैधेरै धन्यवाद दिन्छु ।’

प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सविरुद्ध नेपालको जितमा हिरो मनिष डाँगी रहेको बताए । ‘हामी जितकाे हकदार थियाैँ । हामीले राम्रो खेल खेल्यौँ’, उनले भने, ‘उनीहरूले केही मौका गुमाए र हामीले पनि केही मौका गुमाएका थियौं । मनिष याे खेलकाे हिराे हाे ।’ 

Categorized in खेलकुद