STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मातृभाषाको माध्यमबाट भइरहेको पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण १०, सोमबार

फेब्रुअरी २१ तारीखको दिनलाई संसारभर अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउँदै आईरहेको छ भने सोही अवसर पारेर आईतबार नेवाः पत्रकार राष्ट्रिय दबूले नेपालभाषाको पत्रकारिताको वर्तमान स्थीतिलाई लिएर काठमाडौंमा आयोजना गरेको छ भने सो अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचारकर्मिहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र यसको लागि समुदायको सहकार्य हुनुपर्ने विचार राखेका छन् ।

नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सका सम्पादक वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धर प्रमुख अतिथीका रुपमा उपस्थित रहनु भएको सो कार्यक्रममा उहाँले नेपालभाषा पत्रकारिता क्षेत्रमा व्यावसायिकताको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिले भाषा सेवाको भावनाको भरमा नेपालभाषा पत्रकारिता क्षेत्र अघि बढी रहेको कुरामा चिन्ता प्रकट गर्दै उहाँले आर्थिक पक्षलाई पनि जोडेर अघि बढ्न सक्नुपर्ने विचार राख्नुभयो ।

भाषाको सेवा गरौं भनेर नै  नेवाः संचारमाध्यम र नेवाः पत्रकारहरु अहिले सक्रिय छन् तर यसमा लाखौंको लगानी भइरहेको छ । लगानी र प्रतिफलको लागि पनि योजना बनाउन सक्नुपर्छ भन्ने प्रमुख अतिथी पत्रकार मानन्धरको रहेको छ ।

अन्तरक्रिया कार्यक्रमका सभापति रहनु भएका पत्रकार दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले नेपालभाषाको पत्रकारिता क्षेत्रको विकासको लागि दबू क्रियाशील रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

करीब तीन वर्ष अघि पत्रकार दबूले नै २६ वटा भाषाभाषीको उपस्थितीमा मातृभाषा पत्रकारिता सम्मेलन गरेको सम्झिँदै अध्यक्ष बज्राचार्यले सहकार्य र सरसल्लाहबाटै यस क्षेत्रका समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यलाई सम्झिँदै नेपालको पत्रकारिता क्षेत्रको विकासमै नेवाः पत्रकारहरुको विशिष्ट योगदान रहेको दावी गर्नुभयो ।

त्यस्तै नेवाः टिभि एचडिका अध्यक्ष नवीन जोशीले मातृभाषा माध्यमबाट संचालन हुने संचारमाध्यमलाई राज्यले मूलधारका संचारमाध्यमसँगै राखेर हेर्न नमिल्नेमा जोड दिनुभयो ।

एफ एम रेडियोमा नेपालभाषाका प्रथम समाचारवाचक साथै राष्ट्रिय प्रसारणमा टेलिभिजनमा प्रथम कार्यक्रम संचालक बिराजकाजी राजोपाध्यायले मातृभाषा पत्रकारिता क्षेत्र विगतको तुलनामा अहिले धेरै हदसम्म व्यावसायिक बनेको बताउनु भयो ।

राष्ट्रिय प्रसारणमा पहिलो महिला टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा रहनु भएकी मीना बज्राचार्यले आफ्नो अनुभव सुनाउँदै विगतका दिनमा जस्तै अहिलेपनि महिलालाई संचार क्षेत्रमा सक्रिय रुपमा अगाडी बढ्न समस्या रहेको बताए ।

लहना साप्ताहिकका व्यवस्थापक साथै पत्रकार दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले नेपालभाषाका संचार गृहहरु एकिकृत भई बिग मिडिया हाउसको परिकल्पनामा जानुपर्ने सुझाव दिनुभयो ।

नेपालभाषाको पहिलो समाचार पोर्टल नेपालमण्डल डट कमका सदस्य अस्मित मल्लले नेपालभाषा माध्यमबाट संचालित अनलाइन माध्यमहरुले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सरकारबाट उपलब्ध सुविधा प्राप्त गर्नका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्नेमा ध्यान दिनको लागि मल्लले जोड दिनुभयो ।

कार्यक्रममा दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन, नेपालभाषाका प्रथम सिने पत्रकार साथै दबूका सल्लाहकार विजयरत्न तुलाधर, वरिष्ठ पत्रकार साथै दबूका सल्लाहकार रमेशकाजी स्थापित,दबूका महासचिव सुनिल महर्जन लगायत विभिन्न संचारमाध्यममा आवद्ध नेवाः पत्रकार र पत्रकार दबूका केन्द्रीय साथै जिल्ला पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

Categorized in उपत्यका