STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला अधिकारकर्मीद्वारा नगर प्रमुखको राजीनामा माग

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार

कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको राजीनामा माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिकरूपमा राजीनामा माग गरेका हुन् । महिला अधिकारवादीको संयुक्त हस्ताक्षरित हिजो जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ ।” महिलाहरुले राखेको माग सरकारले सुनुवाइ नगरे देशभरिका महिलाले सडक तताउने उनीहरुले चेतावनी दिएका छन् । अश्लील अभिव्यक्ति दिने र महिलाको सम्मानमा प्रहार गरेकाले कारवाहीका लागि माग गरिएको आवाज संस्था सुर्खेतका प्रमुख पवित्रा शाहीले जानकारी दिनुभयो । “जननिर्वाचित प्रतिनिधिले सार्वजनिक स्थानमै महिलाको अस्मितामाथि दाग लाग्ने खुलेआम अभिव्यक्ति दिने नगर प्रमुख कुर्चीमा बस्न योग्य छैनन्,” अध्यक्ष शाहीले भन्नुभयो, “समग्र महिलाको बेइज्जत गरेकाले नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्दछ ।” सामाजिक, कानूनी र मानवीय अपराध गरेको व्यक्ति जनताको प्रतिनिधि हुन नसक्ने उहाँको जिकिर थियो । पदीय मर्यादा नाघेर अभिव्यक्ति दिने नगर प्रमुख चौधरी जननिर्वाचित प्रतिनिधि हुन नसक्ने महिला मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधि निशा पौडेलले जिकिर गर्नुभयो । यता एकल महिला समूह सुर्खेतका अध्यक्ष शीतलसिंह राठौरले नगर प्रमुखले पदको दुरुपयोग गरेको आरोप लगाउनुभयो । यसरी महिलाको आत्मसम्मानमा आँच आउनेगरी बोल्ने नगर प्रमुख चौधरीलाई रति पनि नछोड्ने उहाँको भनाइ थियो । नगर प्रमुख चौधरीले केही दिनअघि सार्वजनिकरुपमा बोलेको भिडियो भाइरल भएको थियो । उहाँको विरुद्धमा आवाज संस्था, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, सङ्कल्प सञ्जाल, मगर महिला सङ्घ कर्णाली प्रदेश, वाम संस्था, सुन्दर नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ, बेजिङ कमिटी र मगर महिला सङ्घ सुर्खेतले संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरेका छन् ।
Categorized in राष्ट्रिय