STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महानगरपालिकाद्वारा नेपालभाषा शिक्षण तालिम शुरु

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण १७, सोमबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले यसै वर्षदेखि शुरु गर्न लागेको स्थानीय पाठ्यक्रम पठनपाठनको लागि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ को उद्घाटन गर्नुभयो ।

कामपा २२ वडास्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त तालिम तीन दिनसम्म चल्नेछ । तालिम कामपा शिक्षा विभागको आयोजना र नेवाः स्यनामि दबू नेपालमण्डलको संयोजनमा सञ्चालन गरिएको हो ।  

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख शाक्यले काठमाडौंको सम्पदा संरक्षण गर्ने क्रममा यहाँको स्थानीय भाषा नेपालभाषामै स्थानीय पाठ्यक्रम पठनपाठन गर्न लागिएको र यो निर्णय मनपाको नगर परिषद्बाटै सर्वसम्मत ढंगले भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो महानगरपालिकाको संस्थागत निर्णय हो, यसको कार्यान्वयनमा कुनै शंका गर्नु आवश्यक छैन । सुधार गर्नुपर्ने कुनै सुझाव छ भने दिनुहोला, त्यसलाई पनि आत्मसात गर्दै अघि बढ्ने छौँ ।’

सोही कार्यक्रममा बोल्नुहुँदै प्रमुख शाक्यले महानगरपालिकाले बनाउन लागिएको कमल पोखरीका बारेमा धेरै भ्रम सिर्जना गरी काठमाडौंका स्थानीय जनता र भाषा तथा जाति सम्बन्धी खलः पुचःहरूलाई समेत भ्रमित तुल्याउन खोजिएकोले त्यस तर्फ सचेत हुन पनि आग्रह गर्नुभयो ।

‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभागले पनि आफूलाई थाहा छैन भने । कमल पोखरी पुनर्निर्माण गर्दा त्यहाँको के वातावरण बिग्रियो भन्दा त्यो पनि थाहा छैन भने । महानगरपालिकाले कमलपोखरी बिगार्ने होइन पहिले भन्दा ठूलो आकारमा बचाउन खोजिरहेको छ । त्यसैको लागि त्यहाँ कब्जा गरिबसेका प्रहरीलाई हटाउने काम भएको छ, क्लबको भवन हटाउने काम भएको छ । राजनीतिक अभिष्ट भएका मानिसहरू अहिले सम्पदा अभियन्ताको खोल ओढेर विरोधमा आइरहेका छन् । यसमा हामी सतर्क होऔँ ।’ मेयर शाक्यले भन्नुभयो ।

कामपा २२ वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले स्थानीय नेपालभाषाको माध्यमबाट स्थानीय पाठ्यक्रम पठनपाठन गर्ने मेयर विद्यासुन्दर शाक्यको यो निर्णयले भाषा आन्दोलनका अभियन्ताहरूले दशकौंदेखि उठाइरहेको मागको सम्बोधन भएको बिचार राख्नुुहँुँदै आफ्नो वडाका विद्यालयहरूमा यसको कार्यान्वयन गर्न आफू सक्रिय भई लागिपर्ने बचन दिनुभयो ।  

कामपा शिक्षा विभागका प्रमुख रामबाबु सुवेदीले कामपाको निर्णय अनुसार नेपालभाषामा स्थानीय पाठ्यक्रम पढाउन आफ्ना सबै निकायहरू क्रियाशील रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘कामपाको यो निर्णय ऐतिहासिक हो । यसले अरु भाषाहरूलाई पनि आआफ्नो भाषामा पठनपाठन गराउन प्रेरणा मिल्नेछ ।’

कार्यक्रममा नेवाः स्यनामि दबूका पदाधिकारीहरू कृष्णभक्त श्रेष्ठ र वरुणप्रसाद वैद्यले पनि मन्तव्य राख्नुभएको थियो ।

काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पठनपाठन गराउन १७२ जना प्रशिक्षण सहायक भर्ना गर्न लागेको छ । त्यसमा छनौट भई आउने प्रशिक्षण सहायकहरूलाई यही तालिमका सहभागी प्रशिक्षकहरूले शिक्षण प्रशिक्षण दिनेछन् ।

Categorized in शिक्षा