STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महरा हाजिरी जमानतमा रिहा

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ९, शुक्रबार

काठमाडौं - सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीका एक अधिकृतले बताए ।

सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका हुन् ।

कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो । उक्त म्याद बिहीबार सकिएको छ । आज शुक्रबार महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्ने सीआईबीले जनाएको छ ।

अदालतले समेत महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्नु भन्ने आदेश दिएको थियो । अहिले पनि महरा बिरामी नै रहेकाले हाजिरी जमानीमा छाड्नुपर्ने महराका वकिलहरुले तर्क राखेका छन् । उनी बिरामी भएकाले नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

जाँचबुझ आयोगले सुन तस्करीमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँगको फोन सम्पर्क र अन्य परिस्थितिजन्य प्रमाण भेटिएको भन्दै महरामाथि कारबाही गर्न सफारिस गरेको थियो । १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आयोगले बुझाएको ४८५ पृष्ठ लामो प्रतिवेदन अहिले सीआईबीले अध्ययन गरिरहेको छ ।

यसअघि आयोगले २५ माघमा सिंहदरबारस्थित कार्यालयमा बोलाएर महरासँग बयान लिएको थियो । उक्त बयानका क्रममा समेत महराले दाओजिन वाङसँग आफ्नो सम्पर्क रहेको समेत स्वीकार गरेका थिए ।

त्यस्तै विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करीमा समेत विमानस्थलका कर्मचारीलाई फोन गरेको विषय महराले स्वीकार गरेका थिए । भेपमार्फत सुन प्रकरणमा समेत महराले गत १५ असोजमा सीआईबीमा बयान दिएका थिए । दाओजिनसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्वीकारेका थिए ।

Categorized in अपराध-दुर्घटना