STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मलेसियामाथि नेपालको जित

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १६, बुधबार

काठमाडाैँ - त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई हराएको छ । बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो ।

मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको थियो । एक रनमात्र हुँदा पहिलो विकेट गुमाएको नेपालले चौथो ओभरमा दोस्रो विकेट गुमाउदा केवल २५ मात्र जोडेको थियो ।

कुशल भुर्तेल १ तथा रोहित पौडेल १२ रनमा आउट भएका थिए । तर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले नेपाललाई जिततर्फ डोर्याए । आशिफ र दिपेन्द्रले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । आशिफले ३८ बलमा ५७ रनको योगदान गर्दा ७ चौका र १ छक्का हिर्काए । दिपेन्द्र सिंह ऐरीले २१ रनमा आउट भए ।

डेब्यू गरेका दिलिप नाथले अविजित १५ रनको योगदान गरे । कुशल मल्ल २ रनमा अविजित रहे । मलेसियाका पवनदिप सिंहले २ तथा सयद अजिज तथा मुहमद अमिरले एक–एक वकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १४ रन बनायो । मलेसियाका लागि जुवईदी जुल्किफाईले सर्वाधिक ३२ रन बनाए । कप्तान अहमद फैजले २४, मुहमद अमिरले १६ र सयद अजिजले १४ रन बनाए ।

बलिङमा नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

जितसँगै नेपाल सिरिजको फाइनलनजिक पुगेको छ । तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको थियो ।

मलेसियाको यो पहिलो हार हो । पहिलो खेलमा पिएनजीलाई हराएको मलेसियाले दुई खेलमा दुई अङ्क जोडेको छ । पिएनजीले भने अङ्क जोड्न सकेको छैन ।

यस टी–२० सिरिजमा आयोजक नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । हरेक टोलीले एक आपसमा दुई-दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुने छ । नेपालले बिहीबार पिएनजीसँग प्रतिस्पर्धा गर्ने छ ।

Categorized in खेलकुद