STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मनाङममर्स्याङ्दीले उचाल्यो सुदूरपश्चिम खप्तड गोल्डकप

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २८, शनिबार

काठमाडौं - मनाङमर्स्याङ्दी क्लबले मोफसलको सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता, २०७८ को उपाधि उचालेको छ ।

धनगढी क्षेत्रीय रङ्गशालामा शनिबार भएको फाइनल खेलमा फ्रेन्डस क्लबलाई एकका विरुद्ध तीन गोल अन्तरले हराउँदै मनाङले आकर्षक सुदूरपश्चिम गोल्डकप ट्रफी उचाल्यो । उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ नगद पुरस्कार पनि जितेको छ ।

उपविजेता फ्रेन्ड्सले १० लाख रुपैयाँ नगदमा चित्त बुझाएको छ ।

मनाङ खप्तड गोल्डकपको पहिलो संस्करणको पनि विजेता हो । 

ठूलो सङ्ख्यामा रहेका दर्शकहरूमाझ उत्कृष्ट खेल प्रदर्शन गर्ने क्रममा मनाङका दिनेश राजबंशी, आफिज ओलावा र मौसा अबनागाना स्टार बने । उनीहरूले एक–एक गोल गरे ।

मनाङले पूरै खेलभरि फ्रेन्ड्समाथि दबाब बनाएको थियो । फ्रेन्ड्सका तर्फबाट जमोउल एन्थोनी फ्रान्कोइसले मात्र एक गोल गरे ।

दर्शकहरूको चर्काे हुटिङबीच खेलको २२औँ मिनेटमा मनाङका दिनेशले पाएको फ्रि–किकलाई गोलमा बदल्दै टिमलाई अग्रता दिलाए । खेलको १९औँ मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीको अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहारलाई मनाङका गोलकिपर विशाल सुनारले असफल बनाए ।

आक्रमण, प्रत्याक्रमण ५१औँ मिनेटमा फ्रेन्ड्सका जमोउलले गोल फर्काएपछि स्कोर १–१ गोलको बराबरीमा आइपुग्यो ।

७२औँ मिनेटमा मनाङका आफिजले गोल गर्दै स्कोर २–१ को अवस्थामा ल्याइपु¥याए । खेलको ८६औँ मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुवै टोली १०÷१० खेलाडीमा सीमित हुनपुगे ।

खेल २–१ को अवस्थामा रहेको बेला खेलको इन्जुरी समयमा मौसाले गोल गरेपछि मनाङ ३–१ गोलसहित च्याम्पियन बन्यो ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी मनाङका शिशिर लेखी बने । उनले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै, मनाङमर्स्याङ्दीकै विशाल सुनार उत्कृष्ट गोलरक्षक बने भने मनाङकै राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक तथा मौसा अवगाना उत्कृष्ट मिडफिल्डर बने ।

फ्रेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट डिफेन्डर र फ्रेन्ड्सकै जमोउल एन्थोनी फ्रान्कोइस सर्वाधिक गोलकर्ता बने । त्यस्तै, सुदूरपश्चिम–११ क्लबका फागुराम चौधरी उदीयमान खेलाडी बने । उनीहरूले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता समापनका अवसरमा सङ्घीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लबका अध्यक्ष सुरेश हमाललगायतले विजेता टिम तथा खेलाडीहरूलाई ट्रफी, पुरस्कार तथा पदक प्रदान गरे ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीद्वारा आयोजित प्रतियोगितामा एक डिभिजन क्लबसहित १० टिमको सहभागिता रहेको थियो ।

Categorized in खेलकुद