STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मनाइयो माघे सङ्क्रान्ति एवं माघी पर्व

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १, बिहिबार

माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँछन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोनाभाइरसको महामारीका कारण सीमित भक्तजनमात्र स्नान गर्न पुगेका थिए । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । यसैगरी थारु समुदायले नयाँ वर्षका रुपमा माघी नामबाट यो पर्व मनाएका छन् । यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रुपमा माघी पर्व मनाएका छन् । थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवालगायत विभिन्न पदको चयन लोकतान्त्रिक विधिबाट आजैदेखि गर्छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ । माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रुपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महीनामा घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनुका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँगसमेत जोडेर हेर्ने गरिन्छ ।

Categorized in राष्ट्रिय