STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मधेस प्रदेशका आधाभन्दा बढी मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ९, शुक्रबार

काठमाडौं - मधेस प्रदेशका आधाभन्दा बढी मतदात केन्दलाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।

मधेसका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो ।

प्रदेशका एक हजार ६३ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिए।

विगतको निर्वाचनमा भएको निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरी जिल्लास्थित सुरक्षा समितिले गरेको सिफारिसअनुसार नै आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र समान्य गरी वर्गीकरण गरेको उनले बताए।

यस्तै मधेसका ८ सय २८ मतदानस्थलदाई संवेदनशील र २ सय १२ मतदानस्थललाई समान्यको सूचीमा राखिएको छ । प्रदेशमा दुई हजार १ सय ६३ मतदानस्थलमा चार हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

निर्वाचन हुनु ७२ घण्टाअघिदेखि सीमानाका पूर्णरूपमा बन्द गरिनुका साथै सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

१ सय ३६ हातहतियार बुझाइयो

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले इजाजतप्राप्त हतियार बुझाउन गरेको सूचनाबमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ।

प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। (रासस)

Categorized in राजनीति