मदनपुरस्कार विजेता साहित्यकार लोकेन्द्र बहादुर चन्दको अभिनन्दन सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर २६, शुक्रबार
मदनपुरस्कार विजेता वरिष्ठ साहित्यकार एवं पूर्व प्रधानमन्त्री श्री लोकेन्द्र बहादुर चन्दज्यूलाई १०१ विभिन्न साहित्यिक सामाजिक संघसंस्थाहरूले भक्तपुर लोकन्थलीस्थित उहाँको निवासमा सामूहिक अभिनन्दन गरेको छ ।
मूल आयोजक साहित्यिक पत्रकार संघ तथा सहआयोजक तारा किशन फाउण्डेसन एवं नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सहआयोजक श्रीओम श्रेष्ठ रोदन , किशन सिंह धामी र समालोचक प्रमोद प्रधान लगायत विभिन्न साहित्यिक संघसंस्थाका थुप्रै स्रष्टाहरुको उपस्थिति रहेको थियो । अभिनन्दनपत्रमा चोभार ब्लुजका लेखक बिक्रम भक्त जोशीका बुबाआमाको नाम अङ्कित गरी 'प्रभुभक्त-छोरीनानी वर्षपुस्तक पुरस्कार'का संस्थापकका नाताले उक्त समारोहमा साहित्यकार जोशीको उपस्थिति रहेको थियो ।
अभिनन्दन मूल समारोहका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्नु भएको सो समारोहमा सुदूरपश्चिम बैतडीको स्थानीय कलाकारहरूले बाजागाजासहित लोक नृत्य छलिया प्रस्तुत गर्दै सामूहिक अभिनन्दनमा सहभागी भएका थिए ।
सहआयोजकको तर्फबाट श्रीओम श्रेष्ठ रोदनले अभिनन्दनपत्र पढेर सुनाउनुभएको थियो भने वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्व सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।
समाचार स्रोत - बिक्रम भक्त जोशीको फेसबुक
Categorized in व्यक्तित्व

