STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मदनकृष्णलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै नगरिक अभिनन्दन

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख ८, मंगलबार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले ‘ललितरत्न’ उपाधिले विभूषित गर्दै सम्मान गरेको छ । अक्षयतृतीयको दिन वरिष्ठ कलाकारको श्रेष्ठको जन्मदिन मनाउँदै पाटन दरवार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक–सांगीतिक कार्यक्रममा उक्त उपाधि प्रदान गरेको छ । कलाकार समितिका साथै समाजसेवी सरीता महर्जन, शाक्य बज्राचार्य समाज, नेपालभाषा मंकाः खलः यल, मुनासः, वाद्य शिरोमणी घराना, ललितपुर सुनचाँदी ब्यवसायी संघ, स्यस्यः समाज, ज्योति म्यूजिक, ताम्राकार समाज, यल नेवाः समाज, लकस नेपाल, ललितपुर हस्तकला संघ, थ्रीस्टार क्लब, डिलाइट स्कुल, ललितपुर तयारी पोशाक ब्यापार संघ, मंगल टोल सुधार संघ, भुल्खु टोल सुधार समिति,  प्रोजेक्ट बाजा नेपाल, प्लेइङ फर चेञ्ज, नेवाः पत्रकार राष्ट्रिय दबू यल कचा, नेपाः पासा पुचः गुथि अमेरिका लगायत २१ अन्य संस्थाले पनि सम्मान पत्र अर्पण गरी नागरिक अभिनन्दन गरिएको हो ।

यस कार्यक्रममा परम्परागत धाःबाजाको गुञ्जनमा नेवार परम्परा अनुसार वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरवार क्षेत्रमा स्वागत गरिएको हो । स्वागत समारोहमा धाःबाजाका साथै चर्या कलाकार, नेपालका विभिन्न समुदायको भेषमा विद्यार्थीहरुको उपस्थिति, वडा समिति, कलाकार समिति, सम्मान गर्ने विभिन्न संस्था तथा जनसमुदायको ब्यापक सहभागितामा जात्रामय यात्रा गर्दै प्राचीन कार्तिक डबली अगाडी आशन ग्रहण गराइएको हो । परम्परागत धाःबाजा वादनबाट शुरु भएको सम्मान तथा सांस्कृतिक सांगीतिक कार्यक्रममा प्रसन्ना बज्राचार्य र प्रिजा शाक्यले आर्यतारा अमोघसिद्धी चर्यानृत्य प्रस्तुत गरेका थिए ।

नेवार परम्परा अनुसार कलाकार समितिका कोषाध्यक्ष सलोना बज्राचार्य, सदस्य रमा तुलाधर बज्राचार्यका साथै तेजशोभा बज्राचार्य फुल, माछा, वः, रक्सी लगायत पञ्चतत्वको प्रतीक अर्पण गर्दै सगुन दिएका थिए भने यस अवधिमा समितिका सचिव अमोघवीर बज्राचार्यले स्वस्ति वाचन गरेका हुन् ।

डिलाइट स्कुलका विद्यार्थीहरुले ‘सयथरी बाजा एउटै ताल’ गीतमा प्रस्तुत गरेको नृत्यले उत्साहित कार्यक्रममा वाद्य शिरोमणी संगीत घरानाका बाल वाद्यवादकहरुले सोही गीतको भ्वाइलिन वादन प्रस्तुत गरेका थिए ।

बिना कुनै औपचारिक मन्तब्य अघि बढेको कार्यक्रम अन्तरवार्ता शैलीमा संचालन गरिएकाले रोचक मानेका दर्शकहरु कुराकानीकै बीचमा मदनकृष्ण श्रेष्ठका गीतहरु पनि उहाँकै आवाजमा गुञ्जिए पनि अझ उत्साहित भएका हुन् । संवाद कार्यक्रममा आयोजक ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्य, कलाकार मदनकृष्ण श्रेष्ठ, उहाँका छोरा बुहारी यमन श्रेष्ठ र रिंकु बज्राचार्य श्रेष्ठ, गायिका एवं समाजसेवी सरीता महर्जनको उपस्थिति रहेको थियो । गीत प्रस्तुतिकरणमा भूपेन्द्र बज्राचार्यले गितारवादन गर्नुभएको थियो । यमन श्रेष्ठले किबोर्ड वादन गर्नुभएको थियो । मदनकृष्ण श्रेष्ठले ‘अरबौं मान्छेहरुमा’ ‘फुलबुट्टे साडी’, ‘खोलावारी खोलापारी’, सरीता महर्जनको साथमा नेपालभाषाको गीत ‘न्ह्यलय् छि हे ज्वलय् छि हे’ र निशा देसारको साथमा ‘मय्जु छ दः गुलि यः गुलि यः’ गीत सुनाउनु भएको हो ।

कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्य र सुजाता शाक्य बज्राचार्यले सञ्चालन गर्नुभएको कार्यक्रम अघि विहान १० बजेदेखि २ बजेतक रक्तदान कार्यक्रम गरिएको हो ।

स्थानीय तहमै पहिलो पल्ट स्थापित कलाकार समितिले निरन्तर नव कलाकारको खोजीका लागि विभिन्न प्रतियोगिता, युवा कलाकारका लागि मञ्च तथा कार्यक्रम निर्माण गर्ने एवं वरिष्ठ कलाकारहरुका लागि सम्मान कार्यक्रम गर्दै आएको छ 

Categorized in साहित्य-कला