STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १८, आइतबार

पुस १८, काठमाडौं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको साविक विजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा सुनिल बल नायक बने । उनले खेलको २१औँ मिनेटमा निर्णायक गोल गरेका थिए । बलले विशाल राईको फ्री–किकमा हेडमार्फत गोल गरेका थिए ।

जितसँगै मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने तय गरेको हो । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातौँ चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउने प्रस्तावलाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले स्वीकार गरेको थियो । त्यसैअनुरुप मछिन्द्र छनोट भएको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले एएफसी कपको छनोट खेल्न पाएको थिएन । गत वर्ष नेपाली सेनाको आर्मी फुटबल क्लबले सो छनोट खेलेको थियो ।

जितपछि मछिन्द्रले सात खेलमा १७ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको मनाङ मर्स्याङ्दी क्लब १६ अङ्कका साथ दोस्रो स्थानमा छ । सात खेल नै खेलेको पुलिस ६ अङ्कका साथ ११औँ स्थानमा छ ।

Categorized in खेलकुद