STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भोलिको प्रदर्शन : ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि निगरानी

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ६, बुधबार

काठमाडौं- बल्खु र तीनकुनेमा बुधबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ ।

बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ । त्यस्तै, नेकपा एमाले निकट युवा संघले तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागू गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् । 

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमान्ड’ सेन्टर बनाएको छ । डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको स्रोतको दाबी छ । प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले गर्दैछन् । 

ड्रोनबाट निगरानी

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न असम्भव भएको काठमाडौँ एसएसपी भूपेन्द्र खत्रीले बताए । उनले भने, ‘बल्खुमा चाहिँ ड्रोन प्रयोग गर्छौँ ।’ 

काठमाडौं प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

प्रदर्शनको समयमा अन्य सुरक्षा चुनौती नभएको तर, दुई समूहको बिचमा ‘मुठभेड’ हुन सक्ने सुरक्षा चुनौती रहेको सुरक्षा निकायहरूको विश्लेषण छ ।

दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्दै 

युवा संघको जुलुस मोटरसाइकल सहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ । च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने गरी रुट तय गरिएको छ । 

दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने गरी रुट निर्धारण गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना उच्च अधिकृतले बताए । त्यस्तै, प्रसाईं नेतृत्वको समूहको जुलुस मित्रपार्कबाट भित्री बाटो र चक्रपथबाट बल्खु पुग्ने गरी रुट निर्धारण गरिएको छ ।  

Categorized in राजनीति