relans
ni new 83
nib 2082 5

भोटेकोशी नदीमा भीषण बाढी • दर्जन बढी घर बगायाे • दुईकाे शव फेला • १८ जना अझै बेपत्ता

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २५, बिहिबार

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको भीषण बाढीले दर्जनभन्दा बढी घर बगाएको छ । दुईजनाको शव फेला परेको छ भने थुप्रै बेपत्ता भएको आशंका गरिएको छ । हालसम्म १८ जना बेपत्ता भएकाे जनाइएकाे छ । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घरहरु बगाएको हो। बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ।गएराति आएको बाढीले  बस्ती नै डुबानमा परेको छ । बाढीले अरनि राजमार्गको पुलसमेत बगाएको  छ। हालसम्म जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको छ। थाकसेलमा पनि  बाढीले बस्ती बगाएको छ । सोतागंमा पनि पहिरो गएको छ। बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार बाह्रबिसेमा राति साढे १२ बजे भोटेकोशी नदीको जलसतह ०.५ मिटर घटेर १२ः५० बजे एक्कासी १.१ मिटर बढेको थियो । माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी केहीबेर थुनिएको र बाँध फुटेर आकस्मिक बहाव आएको हुन सक्ने अनुमान बाढी सूचना केन्द्रले गरेको छ । केन्द्रले भोटेकोशी–सुनकोशी नदी तटीय क्षेत्रमा विहान १० बजेसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।          अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।          बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताउनुभयो ।          “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गर्नुभएको छ । 
Categorized in राष्ट्रिय
ppp 2