STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भूकम्प दिवसको सम्झनामा काष्ठमण्डपको उद्घाटन गर्ने तयारी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २२, शनिबार

काठमाडाैं – वि.सं  २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक काष्ठमण्डपको पुनर्निमाण सम्पन्न गरी वि.सं. २०७८ सालको सोही दिन उद्घाटन गर्ने तयारी भएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिनुभएको छ । हिजो शुक्रबार  शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन बसन्तपुर दरबारक्षेत्र पुग्नुभएका  मन्त्री ज्ञवालीले  अर्काे साल  बैशाख १२ गते उद्घाटन गर्ने तयारी भईरहेको जानकारी गराउनुभएको हो । 

काष्ठमण्डप पुनःनिर्माणको अवस्थाबारे जानकारी लिदै परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गर्नु हुँदै काष्ठमण्डपको पुननिर्माणको अवस्था देख्दा स्थानीय जनता सहितको सहभगितामा सम्पदा निर्माणमा नमुना स्थापित भएको देखेको छु भनि भन्नुभयो ।

मौलिक परम्परालाई जोगाएर तिब्रताका साथ काम भएको देख्दा सरकारको तर्फबाट  धन्यबाद दिंदै उहाँले यस्ता सम्पदा पुननिर्माणमा स्थानीय जनताको सहभागिता मुख्य देन हो भन्नुभयाे ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन बैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भैरहेको बताउनुभयो । 

स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुनःनिर्माण समिति मार्फत  पुनःनिर्माण गर्न शुरुदेखि नै पहल थाल्नुभएका मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गर्नुभयो । 

काष्ठमण्डप पुननिर्माण समितिका  संयोजक एवं वागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आए पनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै  हामीले ऐतिहासिक जिम्मेवारी पाएका छौं, त्यसलाई पुरा गर्नेछौ र यो हाम्रो मुख्य कर्तब्य हो भनि भन्नु भयाे ।

उहाँका अनुसार काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपिया लाग्नेछ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९करोड रुपिया अनुमान गरिएको थियो । काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपिया उपलब्ध गराइसकेको छ । 

पुननिर्माणमा प्रयोग भएको प्रविधिबारे जानकारी  दिदै संयोजक एवं प्रदेश सांसद शाक्यले  सातौ शताब्दीकै प्रविधि प्रयोग गरेकाे तथा माटो र त्यसबेला  प्रयोग गरेका सामाग्रीलाई  प्रयोग पुननिर्माण गरेकाे कुरा बताउनु भयाे ।  

संयाेजक शाक्यका अनुसार आगामी २०७८  बैशाखसम्म पुननिर्माण सम्पन्न हुने र अहिले करिब ७५ प्रतिशत काम सकिएको देखिन्छ भने फागुन अन्तिमसम्म सक्ने देखिन्छ । 

अवलोकन पछि बोल्नु हुँदै मन्त्री श्रेष्ठले काठमाडौवासीको प्रतिष्ठाको रुपमा रहेको यो सम्पदा समयमै सम्पन्न गर्न समितिलाई आग्रह गर्नुभएको थियो । 

पुनःनिर्माण भैरहेको काष्ठमण्डप चार घेराको सयवटा थाम रहने छन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक–एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।

काष्ठमण्डपको पुनःनिर्माण गर्न ठुलो र सानो आकारको गरी २ लाख थान  माःअप्पा इँट्टा लाग्ने अनुमान गरिएको छ । ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इट्टा आवश्यक पर्नेछ ।

अवलोकन कार्यक्रममा प्रदेश सांसद अजयक्रन्ति शाक्य, गौतम शाक्य लगायत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । 

मन्त्रीद्वयले काष्ठमण्डप पुनःनिर्माण अवलोकन गरेपछि हनुमानढोकाको नासलचोक, कालीदमन चोक, मुलचोक, मोहनकाली चोक, तलेजुको समेत अवलोकन गर्नुभएको थियो । दुवैमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे जानकारी लिएका थिए ।

Categorized in उपत्यका