STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भिडसँगै संक्रमणकाे जाेखिम बढेपछि नि:शुल्क खाना खुवाउनमा राेक

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १८, मंगलबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी ‘दैनिक खाना खुवाउने’ अभियानमा रोक लगाउने भएको छ।

सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको  तथा सरकारको बेइज्जत भएको भन्दै खाना खुवाउन आउने र खानेविरुद्ध खट्न महानगरले नगर प्रहरीलाई निर्देशन दिएको हो।

तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामेश्वर ज्ञवालीले अभाव नभएकाहरू पनि खाना खान आउने गरेको दावी गरे। उनले भने, ‘आफै खान सक्नेहरू पनि त्यहाँ गएर जान थाले। जसका कारण भिड बढ्यो। संक्रमणको चुनौती बढ्यो। त्यसैले अभियान्ताहरूलाई व्यवस्थित बन्न आग्रह हो।’

ज्ञवालीका अनुसार अभियान्ताहरूले पार्टी प्यालेस वा अन्य स्थलमा व्यवस्थित ढङ्गमा अभियान जारी राख्नसक्ने जानकारी दिए। उनले भने, ‘सार्वजनिक स्थलमा गर्दा फोहोर र अस्तव्यस्तता बढ्यो। महानगरपालिकालाई अप्ठ्यारो भयो।’

उनले असहाय र गरिबलाई मानव सेवा आश्रमसँगको समन्वयनमा उद्धार गर्ने दावी गरे। विपन्नलाई आवश्यक नाना, खाना र छाना दिन महानगरपालिकाले आश्रमसँग सहकार्य गरेको उनले बताए। लकडाउन यता पनि आश्रमले सडक मानवहरूको उद्धार गरिरहेको जानकारी दिए।

विभिन्न समूह एवं संस्थाले खुवाउने खाना खान फरक फरक ठाउँमा गरी दैनिक २५ सय देखि ३ हजार मानिस आउने अभियान्ता पुकार बमले दावी गरे। उनले ‘हाम्रो सानो प्रयास’मार्फत् खाना खुवाउँदै आएका छन्।

अभाव नभोगी कोही सडकमा खाना खान नआउने तर्क उनको छ। पुकारले भने, ‘सक्ने भए आङभरी कपडा र नाङ्गो पैतालामा जुत्ता लगाएर आउथे होलान्। उनीहरूलाई पनि संक्रमणको डर होला। एक छाक खानाकै लागि किन भिडमा मिसिन्थे?’

पुकारका अनुसार महानगरपालिकाले यसअघि पनि केही पटक अभियानमा रोक लगाउने सूचना जारी गरेको थियो। तर, खाना खोज्दै आउनेहरु रोकिएनन्। दिनेहरूले दिन छाडेनन्।

उनले सरकारले आफै खुवाउन नथालेसम्म खाना खुवाउने काममा रोक लगाउनु असम्भव भएकाे बताए ।  पुकारले भने,’गाँस खोस्ने हो भने भोकाहरू आक्रोशित हुन्छन्। उनीहरू प्रदर्शनमा उत्रन्छन्।’

Categorized in उपत्यका