STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भाषासेवी लक्ष्मीदास मानन्धरलाई हेमराज सिरपाः (पुरस्कार) प्रदान

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर २८, आइतबार

‘लक्ष्मीदास मानन्धरको प्रयासबाट एकमात्र नेपालभाषाको माध्यमबाट अध्यापन भइरहेको जगतसुन्दर ब्वनेकुथि विद्यालय स्थापना भयो । उहाँ यो उमेरमा पनि नेपालभाषा उत्थानको लागि सक्रिय रुपमा लागिरहनु भएको छ । नेपालभाषा उत्थानको लागि पुस्तक संग्रह मात्र प्रकाशित गरेर पुग्दैन, साहित्य मात्र सिर्जना गरेर नपुग छ । भाषा उत्थानको लागि लक्ष्मीदासले पाइला चालेझैं हामी सबैले पाइला चाल्न सकेको खण्डमा अवश्य पनि भाषाको उत्थान हुन्छ । यदि लक्ष्मीदास मानन्धर यो क्षेत्रमा नभाको भए नेपालभाषा के हो भन्नेतिर आजकलका पुस्ता अनभिज्ञ हुन्थ्यो । त्यसैले लक्ष्मीदास मानन्धर जस्तो महान व्यक्तिलाई सम्मान गर्न पाएकोमा म अत्यन्त गर्वित छु ।’

यो भनाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको हो । उहाँले शनिबार काठमाडौंको थँहितिमा भएको हेमराज सिरपाः प्रदान गरिएको एक कार्यक्रममा यो विचार पोख्नुभएको हो ।

नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिका सल्लाहकार भाषासेवी उद्योगपति लक्ष्मीदास मानन्धरलाई शनिबार उहाँकै निवासमा हेमराज सिरपाः प्रदान गरिएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण सामाजिक दूरी कायम गर्दै लोकसाहित्य परिषदले उक्त हेमराज सिरपाः मानन्धरलाई प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष जोशी उपस्थित हुनुभएको थियो  भने सभापतित्व लोकसाहित्य परिषदकी अध्यक्ष प्रेमशान्ति तुलाधरले गर्नुभएको थियो ।

सभापति तुलाधरले स्वागत मन्तव्य तथा हेमराज शाक्य एवं हेमराज सिरपाःको परिचय दिनुभएको थियो भने उहाँले नेपाल लिपि अन्तर्राष्ट्रियकरण गर्नुहुने हेमराज शाक्य भएको जानकारी दिनुभयो ।

कार्यक्रममा हेमराज सिरपाः दाता एवं हेमराज शाक्यका सुपुत्र सुरेन्द्र शाक्य र प्रमुख अतिथि सत्यमोहन जोशीले संयुक्त रुपमा १ लाख पुरस्कार राशी तथा सम्मानपत्र भाषासेवी मानन्धरलाई हस्तान्तरण गर्नुभएको थियो ।

परिषदले भाषासेवी मानन्धर नेपालभाषा जगत उत्थान गर्नको लागि लामो समयदेखि तन, मन र धनको माध्यमबाट सहयोग गर्दै आइरहनु भएको र नेपालभाषा बचाउनको लागि विद्यालयमा नेपालभाषा अनिवार्य रुपमा अध्ययन अध्यापन गर्ने र गराउने व्यवस्था हुनुपर्छ भन्ने दूरदर्शी लक्ष्य राखी अभिभावकको भूमिका निर्वाह गर्दै आइरहनु भएकोले उहाँको कार्य र योगदानको कदर गर्दै हेमराज सिरपाः प्रदान गरिएको जानकारी दिएको थियो ।

कार्यक्रम राजितबहादुर श्रेष्ठले संचालन गर्नुभएको थियो ।

Categorized in उपत्यका