भारत निर्वाचन : एक्लै बहुमत ल्याउन भाजपालाई सकस
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २२, मंगलबार
एजेन्सी - भारतीय लोकसभा निर्वाचन २०२४ को मतगणना सुरु भएको ६ घण्टाभन्दा बढी भइसकेको छ । मतगणनाको प्रारम्भिक नतिजाले केही स्पष्ट सन्देश दिइसकेको छ । अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले यस पटक बहुमत नल्याउने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । मतगणना मंगलबार बिहानबाट सुरु भएको हो ।
भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो साढे २ बजेसम्मको अवधिमा ५४३ सदस्यको लागि भएको लोकसभा निर्वाचनमा भाजपाले २३९ स्थानमा अग्रता लिइरहेको छ । यीमध्ये दुई उमेदवार विजयी भइसकेका छन् ।
इन्डियन नेसनल कंग्रेस (आईएनसी)ले ९९ सिटमा अग्रता कायम राखेको छ । यीमध्ये एक स्थानमा कंग्रेसका उमेदवार विजयी भइसकेका छन् । यसअघि सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा भाजपाका ३०३ उमेदवार विजयी भएका थिए । कंग्रेसका ५२ उमेदवार विजयी बनेका थिए ।
सन् २०१९ को लोकसभा निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याएको थियो । अहिले ५४३ स्थानमा भएको निर्वाचनको हालसम्म भएको मतगणनामा भाजपा २३९ स्थानमा अघि रहेको छ । बहुमत ल्याउनको लागि कम्तीमा पनि २७२ स्थानमा जित निकाल्नु पर्छ, जुन यस पटक भाजपालाई मुस्किल देखिन्छ । निर्वाचनको परिणामले यसपटक भारतमा भाजपाको अवस्था खस्केको देखाउँछ ।
भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए ।
मतगणनाको प्रारम्भिक मतगणनाअनुसार केन्द्रमा सरकार बनाउन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) बीच प्रतिस्पर्धा देखिएको छ । एक्लै बहुमत ल्याउन नसक्ने अवस्था रहेको भाजपाले नेतृत्व गरेको गठबन्धन एनडीएले भने बहुमत ल्याउने देखिन्छ ।
मतगणना भएका स्थानमध्ये एनडीएका २९० उमेदवार, इन्डिया गठबन्धनका २३४ उमेदवार र अन्य १९ उमेदवारले अग्रता बनाएका छन् । सन् २०१९ मा सम्पन्न लोकसभा निर्वाचनमा एनडीएका ३५२, इन्डिया गठबन्धनका ९४ र अन्यका ९७ जना उमेदवार विजयी भएका थिए ।
मोदी र राहुल गान्धी अगाडि
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४९ हजार ८५९ मतले अगाडि रहेका छन् । उनी वाराणसी लोकसभा सिटबाट चुनाव लडिरहेका छन् ।
यस्तै विपक्षी कांग्रेस समर्थित गठबन्धनका नेता राहुल गान्धी केरलाको वेआनन्द र उत्तर प्रदेशको रायबरेलीका दुवै सिटमा अग्रतामा रहेका छन् ।
राहुलले वेआन्दमा उनका निकटतम प्रतिद्वन्द्वी अन्नी राजाभन्दा एक लाख ९२ हजार मतले अगाडि रहेका छन् । राहुलले त्यहाँ तीन लाख ४७ हजार ६०८ र राजाले एक लाख ५५ हजार ४७३ मत पाएका छन् । उनी रायबरेलीमा पनि अगाडि छन् ।
Categorized in अन्तर्राष्ट्रिय

